रुकुम पश्चिम — गत मंगलबार भेरी नदीमा खसेको टिप्परका चालकको शव फेला परेको छ। दुर्घटनामा बेपत्ता भएका तीनजनामध्ये चालकको मात्रै शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार फेला परेका चालक दाङ निवासी ४१ वर्षीय मणिराम चौधरी हुन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश विष्टका अनुसार चौधरीको शव बिहीबार बेलुका सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी नदी किनारमा फेला परेको हो।
चौधरी चालक रहेको रा.१–क–१५०१ नम्बरको टिप्पर आठबिसकोट नगरपालिका–१४, पिपलचौर नजिकैको भेरी करिडोर सडकखण्ड अन्तर्गत चिसापानीबाट छेपारेतर्फ जाँदै गर्दा नदीमा खसेको थियो।
टिप्परमा सवार अन्य दुई यात्रु अझै बेपत्ता छन्। उनीहरू रुकुम पश्चिम सानिभेरी गाउँपालिका–३ का धनविर विक र रुकुम पूर्व सिस्ने गाउँपालिका–८ स्यालापाखाका हरी बिक रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया