रुकुम पूर्व, असार १९ – पुथा उत्तरगंगा गाउँपालिकाले वडा नं. १४ मा कार्यरत कार्यालय सहायक रथ पुनको ३९ वर्षको कलिलो उमेरमा भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक दिन शोक बिदा घोषणा गरेको छ ।
गाउँपालिकाले शुक्रबार जारी गरेको शोक वक्तव्यअनुसार स्वर्गीय पुनले आफ्नो सेवाअवधिभर इमान्दारी, लगनशीलता, अनुशासन र सेवाभावका साथ सार्वजनिक सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । उनको निधनले गाउँपालिकाले एक कर्तव्यनिष्ठ तथा असल कर्मचारी गुमाएको उल्लेख गरिएको छ ।
गाउँपालिकाले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यो दुःख सहने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सूचनाअनुसार २०८३ साल असार १९ गते शुक्रबार गाउँपालिका तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा एक दिन शोक बिदा दिइएको छ। अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण प्रशासनिक सेवाहरू सो दिन बन्द रहने जनाइएको छ ।



































प्रतिक्रिया