समाचार

नेपाल पत्रकार महासंघ रूकुम पूर्वद्वारा पत्रकारहरुसंग अन्तर्क्रिया



रुकुम पूर्व । नेपाल पत्रकार महासंघ रुकुम पूर्वको आयोजनामा निर्वाचन आचारसंहिता तथा मिथ्या सूचना पहिचान सम्बन्धी जिल्लाका पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार जिल्ला स्थित होटल बीएलवीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ रुकुम पूर्वका सचिव निराजन शिर्पालीका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका क्रममा सञ्चारकर्मी वा सञ्चार माध्यमबाट हुन सक्ने दुष्प्रचार रोकथाम तथा पत्रकारहरूलाई सचेत गराउने उद्देश्यले मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालसँग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचन आचारसंहिता तथा मिथ्या सूचना पहिचान सम्बन्धी प्रस्तुतीकरण दिएका थिए । सम्बोधनका क्रममा उनले गलत सूचनाले अशान्ति पैदा गर्ने, मिथ्या तथा भ्रमपूर्ण सूचनाले विवाद निम्त्याउने बताए । निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सबैको भएको र त्यसमा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने उहाँले उल्लेख गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले निर्वाचन सफल बनाउन सत्यतथ्य सूचना सम्प्रेषण गरी आफ्नो भूमिका निर्वाह गर्न पत्रकारहरूलाई आग्रह गरे । सबै राजनीतिक दलका समाचारलाई समान प्राथमिकता दिन र पित पत्रकारिता त्यागेर सत्यतथ्य कुराको पछि लाग्न उनले आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषध्यक्ष रामकृष्ण अधिकारीले सम्पूर्ण पत्रकारहरूले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताउँदै जिम्मेवार भएर समाचार संकलन गर्न आग्रह गरेका छन्।

प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव मनोज घर्तीले पत्रकारहरूले स्वतन्त्र रूपमा समाचार लेख्न पाउने अधिकार भए पनि एउटा गलत सूचनाले ठूलो भ्रम फैलाउन सक्ने भएकाले सचेत रहनुपर्ने बताए ।

उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष बसन्त बाठा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालकोे प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी सीता परियार, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्ती, अखिल क्रान्तिकारीका उपाध्यक्ष ममता अधिकारी, जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा लगायत जिल्लाका सक्रिय तथा विभिन्न मिडिया सञ्चालकहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव निराजन शिर्पालीले गरेका थिए ।

प्रकाशित : ३० माघ २०८२, बिहिबार, ,