रुकुमपूर्व, जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले अवैध हातहतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
पुथा उत्तरगंगा गाउँपालिका–८ सलापस्थित एक गोठमा अवैध रूपमा हातहतियार लुकाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२/०८/२८ गते खानतलासी गर्दा अवैध भरुवा बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार शेरबहादुर थापाको गोठबाट भरुवा बन्दुक २ थान, बारुद बनाउन प्रयोग गरिने सेतो रंगको सोडा जस्तो देखिने पदार्थ ५०० ग्राम, प्रयोग नभएको बन्दुकमा प्रयोग हुने केप २ थान तथा बारुद बनाउन प्रयोग गरिने गन्धक जस्तो देखिने पहेँलो मसिनो धुलो पदार्थ ७२ ग्राम बरामद गरिएको छ ।
उक्त गोठमा रहेका शेरबहादुर थापा, यमप्रसाद पुन र कृष्णबहादुर मल्ललाई जरुरी पक्राउ पुर्जी जारी गरी रीतपूर्वक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई रुकुमकोट जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी लालबहादुर बि.क.ले जानकारी दिनुभयो ।
यसैबीच, जिल्लामा अवैध हातहतियारको खोजतलास तथा फरार प्रतिवादी पक्राउ गर्न सूक्ष्म रूपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख (प्र.ना.उ.) उमाशंकर प्रसाद यादवले जानकारी दिनुभएको छ।



































प्रतिक्रिया