समाचार

रुकुम पूर्वमा परियोजनाका उपलब्धि र चुनौतीबारे समीक्षा सम्पन्न



रुकुम पूर्व : युनाइटेड मिसन टु नेपाल (यूएमएन) कर्णाली क्लस्टर तथा साझेदार संस्था नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र र मिक नेपालद्वारा रुकुम पूर्वमा सञ्चालित विभिन्न परियोजनाको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

सिस्ने गाउँपालिका-५ स्थित बीएलबी होटलमा आइतबार सम्पन्न बैठकमा यूएमएनका कर्णाली प्रदेश क्लस्टर टिम लिडर रमेश थिमले संस्थाले रुकुम पूर्वमा शिक्षा, स्वास्थ्य तथा मानसिक स्वास्थ्य, अपाङ्गता पुनर्स्थापना, बालबालिका संरक्षण, महिला तथा समुदाय सशक्तीकरण, कृषि तथा आयआर्जन, वातावरण संरक्षण तथा सामाजिक हानिकारक प्रथा न्यूनीकरणलगायतका क्षेत्रमा गर्दै आएका काम, उपलब्धि, समस्या, चुनौती तथा आगामी योजनाबारे जानकारी गराए ।

यूएमएनले रुकुम पूर्वमा मुख्य रूपमा भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकामा काम गर्दै आएकोमा पछिल्लो समय सिस्ने गाउँपालिकामा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

त्यस्तै, नेपाल मगर समाज सेवा तथा सूचना केन्द्रका परियोजना संयोजक उत्तम बि.क.ले शिक्षा, स्वास्थ्य, बालबालिका, महिला तथा लैङ्गिक समानता, कृषि तथा आयआर्जन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, स्थानीय भाषा, परम्परा तथा संस्कृतिको संरक्षण एवं प्रवर्द्धन र सामाजिक सचेतनाका क्षेत्रमा समुदायसँग सहकार्य गरी भएका कामबारे जानकारी गराए । उनले परियोजना कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा आगामी योजनासमेत प्रस्तुत गरे ।

मिक नेपालका परियोजना संयोजक अम्मर महतराले शिक्षा परियोजनाअन्तर्गत विद्यालयमा शिक्षाको गुणस्तर सुधार, शिक्षक तथा विद्यालय व्यवस्थापनको क्षमता विकास, बालमैत्री तथा सुरक्षित वातावरण निर्माण, बालबालिकाको सिकाइ उपलब्धि वृद्धि र बालअधिकार संरक्षणका क्षेत्रमा भएका कामबारे जानकारी गराए । परियोजनाले बालविवाह, लैङ्गिक हिंसा तथा अन्य हानिकारक सामाजिक प्रथाविरुद्ध सचेतना फैलाउँदै अभिभावक, समुदाय र स्थानीय सरकारसँग सहकार्य गरी बालबालिकाको शिक्षा तथा समग्र विकासमा योगदान पुर्‍याउँदै आएको बताइएको छ ।

नेपाल जनजागरण मञ्चका परियोजना अधिकृत हस्तबहादुर भग्रीले मानसिक स्वास्थ्य, अपाङ्गता, कृषि तथा आयआर्जन, बालबालिका तथा महिला सशक्तीकरण र सामाजिक सचेतनाका क्षेत्रमा परियोजनाले समुदायसँग सहकार्य गर्दै आएका गतिविधिबारे जानकारी गराए । ‘खुशीका पाइला’ परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, उपचार तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै उपचार तथा पुनर्स्थापनामा पहुँच पुर्‍याउँदै आएको बताइएको छ ।

बैठकमा जिल्लामा सञ्चालित विभिन्न परियोजनाले हालसम्म हासिल गरेका उपलब्धि तथा कार्यप्रगतिको समीक्षा गरिएको थियो । साथै परियोजना कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती, आगामी योजना र स्थानीय सरकार तथा सरोकारवाला निकायसँगको सहकार्यका विषयमा छलफल गरिएको थियो ।

बैठकमा बोल्दै जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले जिल्लामा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहनुपर्ने बताए । उनले परियोजनाले गरेका कामहरू राम्रो रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र सम्बन्धित स्थानीय सरकारसँगको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुनर्स्थापनाका क्षेत्रमा परियोजनाले गरेको काम राम्रो रहेको बताए । उनले अपाङ्गता भएका बालबालिकालाई उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने कामलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी कोपिला राईले कहिलेकाहीँ जिल्लामा खासै काम नभएको जस्तो अनुभूति हुने गरेको भए पनि बैठकमा प्रस्तुत भएका परियोजनाका गतिविधि र उपलब्धिबाट जिल्लामा धेरै काम भइरहेको अनुभूति भएको बताइन् । उनले विभिन्न संस्थाले समुदायको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर काम गरिरहेको देखिएको बताउँदै आगामी दिनमा पनि प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो भने सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र प्रमुख जिल्ला अधिकारी कोपिला राईको विशेष आतिथ्यता रहेको थियो ।

बैठकमा प्रहरी नायब उपरीक्षक खुमानन्द पाण्डे, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन युनाइटेड मिसन टु नेपालका कार्यक्रम व्यवस्थापक जीवन राईले गरेका थिए ।

प्रकाशित : ८ भाद्र २०८३, सोमबार, ,