समाचार

रूकुम पूर्वमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो



रूकुम पूर्व । रूकुम पूर्वमा विश्व मानसिक स्वास्थ्य दिवस शुक्रबार विविध कार्यक्रमका बीच मनाइएको छ । सिस्ने गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यप्रति जागरूकता फैलाउने उद्देश्य राखिएको थियो ।

“मानसिक स्वास्थ्यप्रति जागरूकता बढाऔं” भन्ने नाराका साथ सिस्ने गाउँपालिकाले दिवसको आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत दिल्ली खड्काले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाहरूको समेत सहआयोजना रहेको थियो ।

कार्यक्रममा मनोविद् तथा नेपाल जनजागरण मञ्चका कार्यक्रम संयोजक रुकुम टमटा र नेपाल महिला सामुदायिक सेवा केन्द्र रुकुमपूर्वकी संयोजक दिपा धितालले मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा जानकारी प्रदान गरेका थिए ।

वक्ताहरूले मानसिक स्वास्थ्य बिना शारीरिक स्वास्थ्य पूर्ण हुन नसक्ने उल्लेख गर्दै तनाव, अवसाद र सामाजिक समस्याको समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए ।

कार्यक्रम सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा भएको थियो । जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख मोहन बहादुर केसी प्रमुख अतिथि थिए भने प्रमुख जिल्ला अधिकारी सीता परियार विशेष अतिथिका रूपमा सहभागी थिइन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सेफ हाउस रुकुम पूर्वकी मनोपरामर्शकर्ता सुगन्धा मल्लले गरेकी थिइन् ।

सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै आएको छ । यस दिवसले प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाबाट प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक सहयोग आवश्यक रहेको सन्देश दिँदै आएको छ ।

प्रकाशित : २४ आश्विन २०८२, शुक्रबार, ,