समाज

रुकुम पश्चिममा चट्याङ लागेर एकको मृत्यु



रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपलमा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ । पिपलका कल्लुजितेकी तारादेवी पौडेलको गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

उनलाई बुधवार साँझ ६ बजेतिर गाई, गोरुलाई गोठमा सार्ने क्रममा चट्याङ लागेको पुष्टि भएको छ । चट्याङ लागेर घाइते भएका तारादेवीलाई उपचारका लागि रुकुम पश्चिमको मुसिकोट खलङ्गामा रहेको साझा मुराल अस्पतालमा लगिएको थियो ।

उनलाई पौने ११ बजे अस्पताल पुर्‍याइएकोमा डाक्टरले ११ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

निरीक्षक पुनकाअनुसार तारादेवीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको जनाइएको छ ।

प्रकाशित : ९ आश्विन २०८२, बिहिबार, ,