स्थानीय सरकार

रुकुम पूर्वका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन: पुथा उत्तरगंगा पहिलो



राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार रुकुम पूर्वका तीन स्थानीय तहमध्ये पुथा उत्तरगंगा गाउँपालिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा उक्लिएको छ ।

आयोगका अनुसार पुथा उत्तरगंगा गाउँपालिकाले ६३.९७ अंक प्राप्त गर्दै जिल्लामै अग्रस्थान हासिल गरेको हो । त्यस्तै, ६३.६३ अंकसहित भूमे गाउँपालिका दोस्रो स्थानमा रहेको छ भने ६०.७७ अंक ल्याएर सिस्ने गाउँपालिका तेस्रो स्थानमा सीमित भएको तथ्यांकले देखाएको छ ।

कार्यसम्पादन मूल्याङ्कन १७ वटा विभिन्न सूचकहरूका आधारमा गरिएको आयोगले जनाएको छ । मूल्याङ्कनमा भूगोल, जनसङ्ख्या, मानव विकासको अवस्था, सेवा प्रवाहको प्रभावकारिता लगायतका पक्षहरू समेटिएका छन् । यही मूल्याङ्कनका आधारमा आगामी आर्थिक वर्षका लागि समानिकरण अनुदान तथा वित्तीय हस्तान्तरण निर्धारण गरिने प्रचलन रहेको छ ।

त्यसैगरी, गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले समग्र टिमको समन्वय, पारदर्शिता र जनउत्तरदायित्वका कारण गाउँपालिका उत्कृष्ट बन्न सफल भएको बताए ।

पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व विकले दुर्गम भौगोलिक अवस्था र विभिन्न चुनौतीबीच पनि गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । उनले समन्वय, प्रतिबद्धता र स्थानीयस्तरको सक्रियताले नै यो उपलब्धि सम्भव भएको उल्लेख गरे ।

स्थानीय तहबीचको यस्तो प्रतिस्पर्धाले सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ भने पछिल्ला स्थानमा रहेका तहहरूले आगामी दिनमा थप सुधारका लागि ध्यान दिनुपर्ने देखिएको छ ।

प्रकाशित : ४ चैत्र २०८२, बुधबार, ,