समाचार

रुकुम पूर्वमा करिब ४ किलोग्राम अफिमसहित दुई जना पक्राउ



रुकुम पूर्व । रुकुम पूर्व प्रहरीले मंगलबार साँझ करिब ६:३० बजे करिब ४ किलोग्राम अफिम सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार सिस्ने गाउँपालिका–६, अस्थायी प्रहरी पोष्ट खोपीचौरस्थित मध्यपहाडी लोकमार्गमा नियमित सवारी जाँचका क्रममा रुकुम पश्चिमबाट रुकुमकोटतर्फ आउँदै गरेको लु.प्र.०१-०११ प १४७१ नम्बरको पल्सर २२० मोटरसाइकल रोकी जाँच गर्दा सवार व्यक्तिहरूको साथबाट करिब ४ किलोग्राम अफिमजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।

प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको कमान्डमा खटिएको तीन प्रहरी टोलीले उक्त अफिमसहित रुकुम पूर्वको भूमे गाउँपालिका-२ निवासी ४० वर्षीय बिरोध बुढा र रोल्पाको थवाङ गाउँपालिका-२ निवासी ३१ वर्षीय जानपुरा झाक्रीलाई पक्राउ गरेको हो ।

बरामद गरिएको अफिम, मोटरसाइकल तथा अन्य प्रमाण नियन्त्रणमा लिई दुवै जनाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

घटनामा पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत रुकुम पूर्वबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ असार २०८३, बिहिबार, ,