फिचर/स्टोरी

कमलदह : प्रकृति, पौराणिकता र सम्भावनाको समागम



रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा अवस्थित कमलदह केवल प्राकृतिक सौन्दर्यले भरिएको स्थल मात्र होइन, रहस्य, आस्था र भविष्यका सम्भावनाले भरिएको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। नेपालकै सबैभन्दा कान्छो जिल्ला रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमै अवस्थित यो दह, मध्यपहाडी क्षेत्रको हरियालीको काखमा लुकेको एक अनुपम सम्पदा हो।

चारैतिर फैलिएका हरिया डाँडाकाँडा र मौसमी रूपमा फूल्ने सुन्दर कमलका फूलले कमलदहलाई अझै आकर्षक र सौन्दर्यपूर्ण बनाएका छन्। दहको छेउछाउमा रहेका मन्दिर, गमला, विश्रामस्थल तथा भित्तामा लेखिएका धार्मिक श्लोकहरूले यस स्थानलाई धार्मिक पर्यटनको दृष्टिकोणबाट पनि महत्वपूर्ण बनाएका छन्।

कमलदहको विशेषता के हो भने, वर्षौंदेखि पानीको सतहमा खासै परिवर्तन नआएको पाइन्छ। वर्षा र हिउँद दुवै मौसममा पनि यसको पानी स्थिर देखिन्छ, जुन वैज्ञानिक दृष्टिले अध्ययनयोग्य विषय हो। तर स्थानीयहरू यसलाई दैवी चमत्कारको रूपमा लिन्छन्। यहाँ मौसमी रूपमा कमलका जराहरू निकालिन्छन्, जसलाई औषधीय गुणयुक्त मानिन्छ। यस्ता विशेषताले यस दहलाई थप रहस्यमय बनाएको छ।

दहको नामाकरण पनि यसको भौगोलिक र सांस्कृतिक विशेषतासँग मेल खान्छ। ‘कमल’ अर्थात् फूल, र ‘दह’ अर्थात् ताल। यहाँ हरेक वर्षको निश्चित समयमा फुल्ने कमलहरूले तालको मुहारमा स्वर्गीय सौन्दर्य थप्ने गर्छन्। साथै, धार्मिक दृष्टिले यो स्थानलाई शक्तिपीठको रूपमा लिइन्छ, जहाँ श्रद्धालुहरूले व्रत बस्ने, पूजा गर्ने र मनोकामना गर्ने परम्परा रहेको छ।

यद्यपि यति अनुपम सम्पदा हुँदाहुँदै पनि कमलदह प्रचार–प्रसारको अभाव, पूर्वाधारको कमी र संरक्षणप्रति बेवास्ताका कारण अपेक्षित रूपमा अगाडि आउन सकेको छैन। तर, पछिल्ला केही वर्षयता यहाँ पर्यटकहरूको आकर्षण बढ्दो छ। यात्रुहरूको चहलपहलले यसको सम्भावना अझ प्रस्ट देखिन थालेको छ।

कमलदहमा अहिले भौतिक संरचनाहरू निर्माण भइरहेका छन्। मन्दिर, गमला, विश्रामस्थल, पर्खाल र सिँढीहरू जस्ता संरचनाले यसको सौन्दर्यमा थप वृद्धि गरेको छ। तर अझै पनि केही संरचनाहरूको आवश्यकता देखिन्छ — जस्तै सूचनापाटी, पिउने पानीको व्यवस्था, शौचालय, छायाँयुक्त विश्रामस्थल आदिको। यी संरचनाको निर्माणमा सिस्ने गाउँपालिका, प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायहरूको सक्रियता आवश्यक छ।

स्थानिय समुदायको सहभागिता र रोजगारीसँग पर्यटनलाई जोड्ने खालका योजना आवश्यक छन्। साथै, यहाँसम्म पुग्ने बाटोको स्तरोन्नति, यात्रीमैत्री पूर्वाधारको विकास र कमलदहलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्नु अत्यन्तै जरूरी छ।

कमलदह केवल दह होइन — यो हाम्रो संस्कृति, हाम्रो आस्था र हाम्रो सम्भावनाको केन्द्रबिन्दु हो। यसको संरक्षण, प्रवर्द्धन र समुचित व्यवस्थापन हाम्रो साझा दायित्व हो। सरकारले ‘पर्यटन वर्ष’ मनाउने नारालाई व्यवहारमा उतार्न चाहन्छ भने यस्ता लुकेका र गहिरा सम्भावनायुक्त स्थलहरूलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको छ।

लेखक

किस्मत शेर्पाली

(सञ्चालक – उज्यालो आवाज मल्टिमिडिया प्रा. लि. – प्रधान सम्पादक – कान्ति भ्वाईस )

प्रकाशित : १३ श्रावण २०८२, सोमबार, ,