फिचर/स्टोरी

टमाटर खेतीबाट वार्षिक लाखौं आम्दानी गर्दै विजय खडका



रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३, राङ्चेपुका कृषक विजय खडका टमाटर खेतीबाट वार्षिक दुई लाखदेखि दुई लाख पचास हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। करिब १५० वर्गमिटर क्षेत्रफलमा टमाटर खेती गर्दै आएका खडका विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा कृषिमा संलग्न छन्।

‘संगीत कृषि तरकारी फर्म’ नामक आफ्नै फार्ममार्फत टमाटर उत्पादन गर्दै आएका खडकाले ‘मनिषा’ जातको टमाटर खेती गर्दै आएका हुन्। उनी टमाटरसँगै काउली, आलु तथा बाख्रापालन समेत गर्दै आएका छन्।

केही वर्षअघि वैदेशिक रोजगारीका लागि विदेश गएका खडका अहिले स्वदेशमै कृषि कर्म गरेर आत्मनिर्भर बन्न सफल भएका छन्। “देशमै बसेर कृषि व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म स्वयं बनेको छु,” उनले भने।

तरकारी उत्पादनबाट सन्तोषजनक आम्दानी भए पनि मल, बीउ र कीराको समस्या भने अझै समाधान हुन सकेको छैन। साथै, बाह्य क्षेत्रबाट आउने तरकारीका कारण स्थानीय उत्पादनको बजार प्रभावित भइरहेको उनी बताउँछन्।

यता, त्रिवेणी गाउँपालिकाले कृषकहरूलाई टनेल निर्माण, सिँचाइ ट्याङ्की लगायतका भौतिक संरचना निर्माणमा सहयोग गर्दै आएको छ। खडकाले टमाटर खेतीमा आफू सफल हुन गाउँपालिकाको निरन्तर सहयोगले मद्दत पुगेको उल्लेख गरे।

स्थानिय तहले प्रविधियुक्त कृषि प्रणालीमा जोड दिँदै आएकोले अन्य युवाहरूलाई पनि स्वदेशमै कृषि व्यवसायतर्फ आकर्षित गर्न सकिने देखिएको छ।

प्रकाशित : २२ असार २०८२, आइतबार, ,