रुकुमपूर्वमा हालसालै सम्पन्न अध्ययनले यहाँका पन्छीको अवस्था चुनौतीपूर्ण देखाए पनि जैविक विविधता अत्यन्तै समृद्ध रहेको तथ्य उजागर गरेको छ । वन विज्ञान संस्थानका अनुसन्धानकर्ता विभूषण दाहाल र डिभिजन वन कार्यालय रुकुमपूर्वको टोलीले गरेको यो अध्ययनले चराचुरुङ्गीको वर्तमान स्थिति, मानव गतिविधिको प्रभाव तथा संरक्षणका उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरेको हो ।
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व पन्छी विविधताका हिसाबले अत्यन्तै धनी मानिन्छ । यहाँ पाइने चराचुरुङ्गीको जीवन र मानिसको दैनिकी बीच पनि गहिरो सम्बन्ध रहेको देखिन्छ ।
फिल्ड सर्वेक्षण, विशेषज्ञ परामर्श, परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजनमा गरिएको अनुसन्धानका क्रममा ४७ परिवार र १६ अर्डरका चराचुरुङ्गी फेला परेका छन् । डिभिजन वन कार्यालयका प्रमुख गणेशबहादुर खड्काका अनुसार सबैभन्दा बढी पासेरिफर्मेस अर्डरका चराचुरुङ्गी पाइएको छ । अध्ययनमा ९४ स्थायी, ३४ हिउँदे आगन्तुक, ३ गर्मीयात्री र ६ बाटोमा बस्ने प्रजाति दर्ता गरिएको छ ।

वन विज्ञान संस्थानका अनुसन्धानकर्ता विभूषण दाहालका अनुसार १,३०० देखि १,८०० मिटर उचाइमा प्रजातिको सबैभन्दा धेरै विविधता देखिएको छ, जहाँ विविधता सूचकांक ३.७६३ र औसत संख्या ५.२३४ रहेको छ । विपरीत, ९८५ देखि १,३०० मिटर उचाइमा सबैभन्दा कम प्रजातिले मात्र वासस्थान बनाएका छन् ।

करिब छ महिनासम्म सञ्चालन गरिएको यस अध्ययनले मानव गतिविधि र वातावरणीय परिवर्तनले चराचुरुङ्गी संरक्षणमा गम्भीर चुनौती उत्पन्न गरेको देखाएको छ । तापक्रम र वर्षा ढाँचामा आएको परिवर्तनले पन्छीको प्रवास तथा प्रजनन चक्रमा असर पारिरहेको छ । हिमाल पग्लनु, वनस्पति आवरणमा कमी, गुँड नजिक मानवीय क्रियाकलाप बढ्नु, र आक्रामक वनस्पति तथा जनावरसँगको प्रतिस्पर्धाले उनीहरूको आहार र आश्रयमा कमी ल्याएको निष्कर्ष निकालिएको छ ।

अध्ययनले लक्षित संरक्षण योजना, दिगो विकास रणनीति र जनचेतना अभिवृद्धि आवश्यक रहेको सुझाव दिएको छ । मध्यपहाडी राजमार्ग निर्माण, बस्ती विस्तार, कृषि वृद्धिले जंगल टुक्रिँदै जाँदा घाँसपात, गुँड बस्ने स्थान र आहार स्रोत घट्दै गएको छ। साथै, सडक र सवारी चापका कारण आक्रामक वनस्पति लान्टाना र वनमाराले स्थानीय घाँसपात विस्थापित गरिरहेको पनि अध्ययनले औंल्याएको छ ।
रुकुमपूर्व चराचुरुङ्गीको धनी क्षेत्र भए पनि मानवीय गतिविधि र वातावरणीय चुनौतीले उनीहरूको आवास र जीवनमा गम्भीर खतरा उत्पन्न भइरहेको छ । यसका लागि दिगो संरक्षण प्रयास अबको प्राथमिकता हुनुपर्ने अध्ययनको निष्कर्ष छ ।

















प्रतिक्रिया