समाचार

रुकुमपूर्वमा ५० शैय्याको अस्पताल उद्घाटन, सेवा प्रभावकारितामा जनशक्ति चुनौती



रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा बहुप्रतीक्षित ५० शैय्याको सुविधासम्पन्न अस्पताल भवन उद्घाटन गरिएको छ । वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित स्थानीय बासिन्दाले अब आधुनिक संरचनाबाट उपचार सेवा पाउने अपेक्षा गरेका छन् ।

अस्पताल भवनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले गरेका हुन् । तीनवटा गाउँपालिकाका करिब ५८ हजार नागरिकलाई लक्षित गरी निर्माण गरिएको यस अस्पतालले जिल्लामै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास गरिएको छ ।

२०७२ सालमा रुकुम छुट्टै जिल्ला बनेपछि स्थापना गरिएको रुकुमपूर्व अस्पतालले हालसम्म रुकुमकोट स्वास्थ्य चौकीकै पुरानो भवनबाट सेवा दिँदै आएको थियो । नयाँ भवन निर्माणसँगै भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार भए पनि सेवा विस्तारका लागि आवश्यक जनशक्ति अभाव भने अझै चुनौतीका रूपमा देखिएको छ ।

लुम्बिनी प्रदेश सरकारको ग्रामीण तथा शहरी विकास मन्त्रालयको बजेटमा शहरी विकास तथा भवन कार्यालय दाङमार्फत २०७८ सालमा निर्माण सुरु गरिएको भवन चार वर्षमा सम्पन्न भएको हो । प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ बनाउन भौतिक संरचनासँगै दक्ष जनशक्ति व्यवस्थापनमा सरकार अघि बढिरहेको बताए ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री चेत नारायण आचार्यले अस्पतालमा ७२ जनाको दरबन्दी कायम रहे पनि हाल आवश्यक स्वास्थ्यकर्मी अभाव रहेको बताए । उनले संघीय र प्रदेश सरकारबीच समन्वय गरी कम्तीमा १० जना स्वास्थ्यकर्मी छिट्टै पदपूर्ति गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

भवन तयार भए पनि दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावकारी बन्नेमा चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन् । समयमै जनशक्ति व्यवस्थापन गर्न सके मात्र अस्पतालले अपेक्षित सेवा दिन सक्ने उनीहरूको भनाइ छ ।

स्थानीयवासीले अस्पताल सञ्चालनसँगै सामान्य शल्यक्रिया सेवा समेत उपलब्ध भए आफूहरूलाई ठूलो राहत हुने बताएका छन् । यसअघि बिरामीलाई डोकोमा बोकेर सदरमुकामसम्म लैजानुपर्ने बाध्यता रहेको उनीहरूले बताए ।

भौतिक संरचना निर्माणसँगै स्वास्थ्य सेवामा नयाँ आशा जागेको भए पनि गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक जनशक्ति व्यवस्थापन अब मुख्य चुनौतीका रूपमा देखिएको छ ।

प्रकाशित : ३० चैत्र २०८२, सोमबार, ,