भूमे गाउँपालिका वडा नम्बर ७, धर्मशालामा नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ र भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले संयुक्त रूपमा वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनसँगै वडावासीहरू उत्साहित भएका छन् । स्थानीय सरकार स्थापना भएको करिब ९ वर्षपछि वडा नम्बर ७ ले आफ्नै पक्की प्रशासनिक भवन पाएको हो । यसअघि अस्थायी भाडाको संरचनाबाट सेवा लिँदै आएका वडावासीहरू अब आफ्नै व्यवस्थित भवनबाट सेवा पाउने भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेघबहादुर श्रेष्ठले महान जनयुद्ध, गणतन्त्रको स्थापना र त्यसपछिका उपलब्धिका कारण आज गाउँ–गाउँमा सरकारी सेवा उपलब्ध हुन सकेको बताउनुभयो । उहाँले स्थानीय सरकार सुदृढ बन्दै जाँदा जनताका आधारभूत सेवा अझ सहज, छरितो र प्रभावकारी बन्दै गएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले नवनिर्मित वडा कार्यालय भवनले सेवा प्रवाहलाई थप व्यवस्थित र जनमुखी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले सबै वडामा आवश्यक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आगामी दिनमा सेवा, सुशासन र विकासलाई सँगसँगै अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष सबिना बुढा मगरले वडा कार्यालयको आफ्नै भवन निर्माण हुनु स्थानीय सरकारको संस्थागत विकासको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले स्थानीय तहले जनताको विश्वास जित्ने गरी सेवा दिनुपर्नेमा जोड दिँदै गाउँमा प्रशासनिक भवन निर्माण हुनु सबैका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा नेता रुपधन कामीले जनयुद्ध तथा हजारौँ सहिदहरूको त्याग र बलिदानका कारण आज गाउँ–गाउँमा सिंहदरबार निर्माण सम्भव भएको धारणा व्यक्त गर्नुभयो । उहाँले अब एकल राज्य प्रणाली र सीमित व्यक्तिबाट शासन गर्ने अभ्यासको अन्त्य भएको बताउनुभयो ।
सभा अध्यक्ष तथा वडा नम्बर ७ का वडा अध्यक्ष संगम रोकाले लामो प्रतीक्षापछि आफ्नै वडा कार्यालय भवन पाउन सफल भएको बताउँदै यसले वडाको प्रशासनिक कामकाजलाई थप सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशासकीय भवन निर्माणमा सहयोग गर्ने जनप्रतिनिधि, स्थानीयवासी तथा सम्बन्धित सबै निकायलाई धन्यवाद दिनुभयो ।
उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू, राष्ट्रसेवक कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा वडा सचिव लोकेन्द्र ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन चन्द्र रसाइलीले गर्नुभएको थियो ।














प्रतिक्रिया