रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले मंगलबार वडा नं. ६, डिमुरगैरास्थित तातोपानी क्षेत्रमा ४७औँ गाउँ कार्यपालिका बैठक सम्पन्न गर्दै पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा केन्द्रित महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
बैठक अघिल्ला निर्णयहरूको मूल्याङ्कनबाट सुरु भएको थियो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकका अनुसार यसपटक कार्यपालिकाले तातोपानी क्षेत्र विकासलाई केन्द्रमा राख्दै विभिन्न योजनाहरू अघि सारेको छ ।
तातोपानीमा पर्यटन संरचना उद्घाटन
आर्थिक वर्ष २०८१/८२ को बजेटअन्तर्गत निर्माण भएका भिझ्ने पोखरी, चेन्जिङ रुमसहित तातोपानी संरक्षणका संरचनाहरू गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले उद्घाटन गरे ।
स्वास्थ्य पर्यटनको सम्भावना देखिएको तातोपानी क्षेत्रमा प्रत्येक वर्ष माघ १ गतेदेखि ‘तातोपानी स्वास्थ्य पर्यटन महोत्सव’ गर्ने निर्णय गर्दै ९ सदस्यीय संरक्षण तथा व्यवस्थापन समिति गठन गरिएको छ ।
बालअधिकार र सामाजिक निर्णयहरू
बालमैत्री प्रशासनलाई सुदृढ बनाउने उद्देश्यले अध्यक्ष घर्तीको संयोजकत्वमा १३ सदस्यीय बालअधिकार समिति गठन गरिएको छ ।
त्यस्तै, गुरगाद–रुपौली, दम–चौरीलेक, सेरा–निसेल्ढोर र गुल्जा झरनातर्फ पर्यटन पदमार्ग र काठेपुल निर्माण गर्ने निर्णय गर्दै सञ्चालनमा योगदान पुर्याएका ६ व्यक्तिलाई सम्मान गर्ने तयारी गरिएको छ ।
डिजिटल पर्यटन एप निर्माण
गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूको जानकारी एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले ‘पर्यटन डिजिटल एप’ निर्माणको प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ ।
वजेट स्थानान्तरण र स्वास्थ्य सेवा विस्तार
पहिले सवारीसाधन खरिदका लागि राखिएको १५ लाख रुपैयाँलाई तातोपानी संरक्षण तथा व्यवस्थापनमा रकमान्तर गर्ने निर्णय भएको छ ।
वडा नं. १२ को कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत स्याटेलाइट क्लिनिक सञ्चालन गर्न पहल गर्ने जनाइएको छ ।
पूर्वाधारमा नयाँ पहल
दुर्गम भौगोलिक अवस्थालाई ध्यानमा राख्दै वडा नं. ७ मा पर्ने घुर्बाङखोला झोलुङ्गे पुल निर्माणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, वडा नं. ५ स्थित श्री संयोग कन्स्ट्रक्सनलाई ‘घ’ वर्गको निर्माण अनुमति दिने निर्णय पनि पारित भएको छ ।
गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष टिकासाई घर्तीका अनुसार बैठकले पुथा उत्तरगङ्गालाई पर्यटनमैत्री, स्वास्थ्यमैत्री र विकासमैत्री गाउँपालिका बनाउन आवश्यक ठोस कदम चाल्न सफल भएको छ ।



































प्रतिक्रिया