नेपालमा बर्खाको समय केवल पानी पर्ने मौसम मात्र होइन, जनस्वास्थ्यका दृष्टिले पनि अत्यन्त संवेदनशील काल हो। वर्षासँगै पहिरो, बाढी, चट्याङ् जस्ता प्राकृतिक विपत्तिको जोखिम त रहन्छ नै, तर एउटा मौन र खतरनाक समस्या हो—सर्पदंश।
प्रत्येक वर्ष बर्खायाम सुरु भएदेखि नै देशका विभिन्न स्थानमा सर्पदंशका घटनाहरू तीव्र रूपमा बढ्ने गर्छन्। विशेषगरी ग्रामीण क्षेत्रका किसान, घाँसदाउराका लागि जंगलतिर लाग्ने महिलाहरू, बालबालिका तथा चरन क्षेत्र आसपासका बासिन्दा बढी जोखिममा पर्ने गरेका छन्। धेरैजसो घटना घाँस काट्ने क्रममा, खेतमा काम गर्दा वा घरमै ओत लाग्न आएका सर्पले टोक्दा हुने गर्छ।
वर्षायाम सर्पका लागि विशेष रूपमा सक्रिय हुने समय हो। बाढी वा पानीको बहावबाट बच्नका लागि सर्पहरू बासस्थान परिवर्तन गर्छन् र कतिपय अवस्थामा मानव बस्तीभित्रै प्रवेश गर्छन्। झ्याल–ढोका खुलेको अवस्था, कोठामा लस्कर लगाइएको घाँसपात, गोठालो जाने बाटो वा खरवारभित्र लुकेका सर्पहरूले मानिसलाई दंश गर्न सक्छन्। अझ खतरनाक कुरा के भने, प्रायः पीडितहरू उपचारमा ढिलासुस्ती वा अज्ञानताका कारण अकालमै ज्यान गुमाउन बाध्य हुने गरेका छन्।
त्यसैले अहिलेको समय अत्यन्त सतर्कताको हो। घाँस काट्न जानेहरूले राम्ररी हेरेर, लठ्ठीले जाँचेर मात्रै काम सुरु गर्नु पर्छ। बुट, पाइन्ट र लामो वस्त्र लगाउनु उपयुक्त हुन्छ। बाटो हिँड्दा जमिन नहेरी एकोहोरो अघि बढ्नु जोखिमपूर्ण हुन सक्छ। घरको वरिपरि सफा राख्ने, गोडमेल गर्ने, झारजङ्गल हटाउने जस्ता सतर्कता अपनाउनु आवश्यक छ। सर्पले टोकेको खण्डमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुर्याएर एन्टि–स्नेक भेनोम (anti-snake venom) लगाउने व्यवस्था मिलाउनुपर्छ। झारफारको भरमा समय खेर फाल्नु हानिकारक हुन्छ।
सरकार तथा स्थानीय तहहरूले पनि यस विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। विद्यालय, स्वास्थ्य चौकी र समुदायस्तरमा सर्पदंशबारे प्राथमिक उपचार, सावधानीका उपाय र तात्कालिक कदमहरूबारे तालिम तथा सूचना प्रवाह हुनु अत्यावश्यक छ।
सर्पको संसारसँग हामीले द्वन्द्व होइन, दूरी राख्ने हो। प्रकृतिसँगै बाँच्न सिक्नुपर्छ—तर सतर्कता र सचेतनाका साथ। यस बर्खायाममा सर्पदंशबाट आफू र आफ्नो परिवारलाई जोगाउने जिम्मेवारी हामी सबैको हो।
लेखक – उज्यालो आवाज मल्टिमिडिया प्रा. लि.














प्रतिक्रिया