समाचार

हिमपातले मध्यपहाडी लोकमार्ग ठप्प, उद्धार कार्य तीव्र



बागलुङ र रुकुमपूर्वको सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा लगातार हिमपात भएपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका रात्री बससहित ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल बीच बाटोमै रोकिएका छन् भने सयौँ यात्रु अलपत्र परेका छन् ।

शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले भूमे गाउँपालिका – १ अन्तर्गत लुकुम ,पातिहाल्ना सडक खण्ड ठप्प बनेको हो । सडक बन्द भएपछि यात्रुहरू आज बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म कठ्याङ्ग्रिने चिसोमा खुला आकाशमुनि बस्न बाध्य भएका थिए । भोक र चिसोका कारण अवस्था थप जोखिमपूर्ण बनेको बताइएको छ ।

घटनालाई मध्यनजर गर्दै भूमे गाउँपालिकाले तत्काल डोजर (जेसेभी) परिचालन गरी उद्धार तथा सडक खुलाउने प्रयास तीव्र पारेको छ । गाउँपालिकाका उपाध्यक्षका अनुसार यात्रुहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम समेत गरिएको छ ।

उद्धार गरिएका यात्रुहरूले हिमपातका कारण ठूलो सास्ती खेप्नुपरेको बताएका छन् । पोखराबाट रुकुम पश्चिमतर्फ जाँदै गरेकी लक्ष्मी शाहीले बस बीच बाटोमै रोकिँदा लामो समय चिसोमा बस्नुपरेको र भोकै बस्नुपर्दा अवस्था झनै कठिन बनेको बताइन् । यस्तै, मुस्ताङबाट घर फर्किँदै गरेका महेश शाहीले हिउँका कारण यात्रा अघि बढाउन नसकिएको र हिउँमै भिजेर बस्नुपरेको गुनासो गरे ।

लगातारको हिमपात र वर्षासँगै सो क्षेत्रमा दूरसञ्चार सेवा समेत प्रभावित बनेको छ । मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन चुनौती रहने देखिएको छ ।

रणनीतिक रूपमा महत्वपूर्ण मध्यपहाडी लोकमार्ग बारम्बार अवरुद्ध हुने समस्याले यात्रुहरू जोखिममा पर्ने क्रम बढ्दै गएको छ । दीर्घकालीन समाधानतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिएको छ ।

प्रकाशित : ७ चैत्र २०८२, शनिबार, ,