कृषि

कैलालीमा ग्याङ वार : जेल भित्रैबाट नन्दु सरकार र जयन्द्र समूहबीच भिडन्त



४ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले २८ जेठमा गोली चलाएर दुईजनालाई पक्राउ गर्‍यो । रिदम ढुंगाना र मिलन चन्द नाम गरेका दुई युवालाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कैलाली प्रहरीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार ज्यान मार्ने उद्योगको आरोपमा फरार रहेका उनीहरूलाई पक्राउ गरेर कार्यालय ल्याइँदै थियो । भजनी गाउँपालिका-७ मा आएपछि पिसाब फेर्ने निहुँ बनाएर भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको सिंहको दाबी छ ।

प्रहरीले उनीहरूमाथि ज्यान मार्ने उद्योगको घटनामा अनुसन्धान गरिरहेको छ । यो घटनामा संलग्न भनिएका तीनजना अझै फरार छन् ।

गत १५ जेठमा उनीहरूले टीकापुर नगरपालिका-१ का मानस भनिने ३१ वर्षीय टेकेन्द्रसिंह विष्टमाथि खुकुरी र चक्कु प्रहार गरेका थिए । त्यो घटनामा विष्ट बल्लबल्ल बाँचेका थिए ।

क्याफेमा कफी पिइरहेको अवस्थामा विष्टमाथि आक्रमण भयो । आक्रमणबाट गम्भीर घाइते उनलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइएको थियो । उनी अहिले डिस्चार्ज भइसकेका छन् ।

त्यो घटनापछि फरार रहँदै आएका उनीहरू करिब १५ दिनपछि पक्राउ परे । हेर्दा एक व्यक्तिले अर्को व्यक्तिमाथि खुकुरी प्रहार गरेको देखिए पनि यो घटना यतिमा मात्रै सीमित छैन ।

अनुसन्धान अधिकृतहरूका अनुसार यसको साइनो जेलसम्म जोडिएको छ । अनि व्यक्ति मात्रै नभई दुई समूहको दुश्मनी, बदला, रवाफ र अस्तित्वसम्म यो घटनामा प्रकट भएको छ ।

प्रहरीका अनुसार खुकुरी खाने व्यक्ति विष्ट जयन्द्र शाह समूहमा निकट छन् । तर तर विष्टको परिवारले भने यो कुरा अस्वीकार गरेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनको परिवारले कुनै पनि समूहमा रहेर गतिविधिमा संलग्न नरहेको जनाए ।

नन्दु सरकार सरकारले जेलबाटै आतंक मच्चाउँदै घटना घटाएको प्रहरीले बताएको छ ।

प्रकाशित : ८ असार २०८२, आइतबार, ,