गर्मी मौसमको सुरुवातसँगै हुनसक्ने सम्भावित डढेलोको जोखिमलाई मध्यनजर गर्दै रुकुमपूर्वमा जिल्ला स्तरीय डढेलो नियन्त्रण तथा व्यवस्थापन गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय रुकुमपूर्वको आयोजनामा भएको उक्त कार्यक्रममा डढेलो न्यूनीकरण र वन संरक्षणका लागि अपनाउनुपर्ने सतर्कताका विषयमा सरोकारवालाहरूबीच गहन छलफल भएको छ ।
गोष्ठीमा तथ्याङ्क प्रस्तुत गर्दै डिभिजन वन कार्यालयका प्रमुख गणेश बहादुर खड्काले जिल्लामा हुने कुल डढेलोमध्ये ९५ प्रतिशत घटना मानवीय कारणले हुने गरेको सनसनीपूर्ण तथ्य सार्वजनिक गर्नुभयो । “मानवीय लापरबाही र जानाजानी लगाइने आगोका कारण जिल्लाको जैविक विविधता सङ्कटमा परेको छ,” खड्काले भन्नुभयो, “वनमा लाग्ने डढेलोका कारण बहुमूल्य जडिबुटीहरू खरानी भइरहेका छन् ।” उहाँका अनुसार डढेलो लगाउने कार्यमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने क्रम सुरु भएको र गत वर्ष मात्रै दुई जनालाई पक्राउ गरी कारबाही गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले आगलागीको क्षति न्यूनीकरण गर्न सामुदायिक वनहरूमा ‘अग्निरेखा’ निर्माण गर्न सुझाव दिनुभयो । उहाँले डिभिजन वन कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै गाउँपालिका र वडा स्तरसम्मै डढेलो विरुद्धको जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै, जिल्ला समन्वय समितिका उप-प्रमुख मोहन बहादुर केसीले वन संरक्षणको प्राथमिक जिम्मेवारी स्थानीय समुदायकै भएको बताउनुभयो । “वन जोगाउने मुख्य दायित्व वन उपभोक्ता समूहको हो,” उहाँले भन्नुभयो, “स्थानीय स्तरबाटै सक्रियता नभएसम्म सरकारी प्रयास मात्र पर्याप्त हुँदैनन् ।”
कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले स्थानीय सरकारले डढेलो नियन्त्रणका लागि आवश्यक नीतिगत र व्यावहारिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । उहाँले वडा स्तरमा जनचेतना फैलाउन पालिकाले विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी उमा शंकर प्रसाद यादवले डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कडा कानुनी कारबाही गरिने र आगलागीका घटनामा सुरक्षाकर्मीहरू तत्काल परिचालन हुने संयन्त्र बनाइएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा जिल्ला भरका वन उपभोक्ता समितिहरुको उपस्थिती रहेको थियो ।



































प्रतिक्रिया