रुकुमपूर्व, माघ १० रुकुम पूर्वको पातिहाल्ना यतिबेला हिउँको सेतो पछ्यौरीले ढाकिएको छ । माघ महिनाको कठ्याङ्ग्रिने जाडो छिचोल्दै आएको हिउँले यहाँको सौन्दर्यलाई अप्रतिम बनाएको छ । केही साताअघिसम्म फुस्रो र उराठ देखिएका सिस्ने हिमालले अहिले सेतो चोलामा ढाकिएको छ । सिस्ने मात्र नभई पुथा हिमालदेखि धौलागिरि र माछापुच्छ्रेका श्रृङ्खलाहरू पनि हिउँले ढाकिएका छन्, जसले माथिल्लो भेगका गाउँहरूलाई जीवन्त चित्रझैँ देखाइरहेको छ ।
पातिहाल्ना अहिले हिउँसँग रमाउने पर्यटकहरूको मुख्य गन्तव्य बनेको छ । मध्यपहाडी लोकमार्ग हुँदै यहाँ आइपुग्ने सवारी साधनहरूले यात्रुहरूलाई रोकेर छैन, तर अधिकांशले यहाँ आएर हिउँको मजा लिन्छन् । रुकुम पश्चिम, दाङ, सल्यान, रोल्पासँगै पोखरा र बुटवलजस्ता टाढाका सहरबाट पनि पर्यटकहरू यहाँ आइपुगेका छन् ।
हिउँको सौन्दर्यले पर्यटकलाई आकर्षित गरेको छ भने यातायातमा अवरोध पनि बढाएको छ । लुगुमदेखि पातिहाल्नासम्मको करिब १० किलोमिटर सडक खण्डमा हिउँ जम्दा सवारी साधन चलाउन गाह्रो भइरहेको छ । माथिल्लो भेगका बासिन्दाको दैनिकी चिसो बढेसँगै घर वरिपरि सीमित हुन थालेको छ ।
पातिहाल्नामा हिउँसँग रमाइरहेका पर्यटकहरूले हिउँमा लडिबुडी, डल्ला हानाहान र बाल्यकाल सम्झाउने खेलहरू गरिरहेका छन् । त्यहाँबाट उकालो लागेर तिलाचन र चौँरी लेकतर्फ जानेहरू ढोरपाटनको सुन्दर फाँटमा मन्त्रमुग्ध हुने गर्छन् । हिउँ त पहिले पनि देखिएको हो, तर पातिहाल्नाको उचाइ र वरपर फैलिएको हिमाली दृश्य साँच्चिकै मन लोभ्याउने छ ।
प्रकृतिको यो अनुपम उपहारले एकातिर पर्यटनको ढोका खोलेको छ भने अर्कोतिर दैनिक जीवन र यातायातमा चुनौती थपेको छ । यदि यो मार्ग व्यवस्थित गरी हिउँ व्यवस्थापनका लागि आधुनिक उपकरणको व्यवस्था गर्न सकियो भने, पातिहाल्ना क्षेत्र लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना प्रस्ट देखिन्छ ।









प्रतिक्रिया