खेदकुद

चारगाउँमा विविध खेलकुद तथा सांस्कृतिक मेला उद्घाटन



रुकुमपूर्व। रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका-८, चारगाउँमा विविध सांस्कृतिक मेला उद्घाटन गरिएको छ । बुधबार सृजनशील दोभान युवा क्लबको ३१औं वार्षिक उत्सवको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक मेला एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

प्रत्येक वर्षको भदौ महिनामा लाग्ने घिया मेलाअन्तर्गत यसपटक शुद्ध पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको सृजनशील दोभान युवा क्लबका सचिव विष्णु मल्लले जानकारी दिनुभयो। साथै, स्थानीय झाँकी नाचका बीच उद्घाटन गरिएको मेलामा भलिबल प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, घैटाफोर प्रतियोगिता लगायतका खेल सञ्चालन हुने सचिव मल्लले बताउनुभयो।

त्यस्तै, क्लबका संयोजक धरम सेनका अनुसार यस वर्ष हुने पुरुष भलिबलतर्फ प्रथम पुरस्कार ७० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार ५० हजारसहित कप, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार ३० हजारसहित कप, मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार १५ हजारसहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

महिला भलिबलतर्फ प्रथम पुरस्कार ३० हजारसहित कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार २० हजारसहित कप, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार १० हजारसहित कप, मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार ५ हजारसहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको संयोजक सेनले बताउनुभयो।

स्थानीय झाँकीका लागि प्रथम पुरस्कार २० हजारसहित मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार १० हजारसहित मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार ५ हजारसहित, र सान्त्वना पुरस्कार २ हजार ५ सयसहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ। बीच भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १० हजारसहित कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको मेला आयोजक समितिले जानकारी दिएको छ।

मेला उद्घाटन कार्यक्रम क्लबका संयोजक धरम सेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पुथाउत्तरगंगा गाउँपालिका-८ का वडा अध्यक्ष पूर्णा मल्ल शाहीको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, विशेष अतिथिमा वडा सदस्य दलबहादुर शाही, अतिथिमा नेपाली कांग्रेस पुथा-८ का वडा सभापति सेते शाही, नेकपा एमालेका प्रतिनिधि अञ्चल मल्ल, नेकपा माओवादी केन्द्रका वडा समिति अध्यक्ष गणेश कुमार रोका, एकीकृत समाजवादीका वडा अध्यक्ष टेक प्रसाद समाल, प्रहरी चौकी जाङका इन्चार्ज प्रेम बहादुर खड्का, स्वास्थ्य चौकी जाङका इन्चार्ज ओमप्रसाद चौधरीलगायत स्थानीयहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन हिमालकुमार सेनले गर्नुभएको थियो।

प्रकाशित : ४ भाद्र २०८२, बुधबार, ,