खेदकुद

सिस्ने गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



रुकुम पूर्वको सिस्ने गाउँपालिकामा गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन आज सिस्ने गाउँपालिका – ३ स्थित पोखराको मुलपानी खेल मैदानमा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले गरे ।

प्रतियोगितामा ९ वटा सामुदायिक र १ वटा संस्थागत गरी जम्मा १० वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुदले विद्यार्थीको प्रतिभा उजागर गर्दै राष्ट्रको पहिचान निर्माणमा योगदान पुर्‍याउने बताए । उनले खेलकुदसँगै शिक्षालाई पनि समान महत्व दिनुपर्नेमा जोड दिँदै रुकुम पूर्वबाट राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे ।

जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर केसीले खेलकुदले अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने बताए । उनले विद्यार्थी जीवनमै खेलकुद संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्दै जित ,हार खेलको स्वाभाविक प्रक्रिया भए पनि हार्दा पनि अनुशासन कायम गरेर खेल्नु नै ठूलो उपलब्धि भएको बताए ।

पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले खेलकुदले विद्यार्थीलाई शारीरिक तथा मानसिक रूपमा सक्षम बनाउने भएकाले स्थानीय तहहरूले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताए ।

लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य हरी थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन हुँदै आएको बताए । उनले रुकुम पूर्व खेलकुद प्रतिभाको उर्वर भूमि बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता गरेका सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गाउँपालिका तहमा लुकेका प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले खेलकुदलाई संस्थागत गर्दै आगामी दिनमा आवश्यक पूर्वाधार निर्माण र सहयोग विस्तार गरिने प्रतिबद्धता जनाए ।

प्रतियोगिता अन्तर्गत आज विभिन्न खेल विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको छ भने बाँकी खेलहरू भोलिदेखि सञ्चालन हुने आयोजकले जनाए ।

उद्घाटन कार्यक्रममा सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, गाउँ कार्यपालिकाका सदस्यहरू, वडा नं. ३ का अध्यक्ष हेयराम खड्का सहित अन्य वडाध्यक्षहरू, तीनवटै गाउँपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुखहरू, १० वटै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, पत्रकार तथा विभिन्न सांस्कृतिक झाँकी टोलीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन श्री जनता माध्यमिक विद्यालय पोखराका प्रधानाध्यापक कलु खड्काले गरे ।

प्रकाशित : १४ माघ २०८२, मंगलबार, ,