रुकुमपूर्व । माघको ठिहिर्याउने जाडो र चिसो निकै छ । तर, रुकुम पूर्वको पुथा उत्तरगंगा – १० स्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भने बेग्लै राप सुरु भएको छ। शुक्रबारदेखि १७ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको हो। गाउँपालिका स्तरीय छनोट प्रतियोगिता समापन भए लगत्तै जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वले प्रतियोगितामा पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका छानिएका खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्दैछन् ।
प्रतियोगिताको समुद्घाटन गर्दै प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभाको प्रदेश मामिला तथा कानुन समिति सभापति दिलकुमारी बुढामगरले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने बताइन । उनले यस्ता प्रतियोगिताले गाउँ–गाउँमा लुकेर रहेका प्रतिभालाई राष्ट्रिय मूलधारमा ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरिन ।
यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन मगरले आफ्नो निर्वाचन क्षेत्रमा शैक्षिक सुधारका लागि भवन निर्माण लगायतका भौतिक पूर्वाधारमा विशेष जोड दिएको बताए । उनले खेलको गरिमालाई जोगाउन आग्रह गर्दै भन्नुभने , “खेल जित र हार मात्र होइन, यो अनुशासन पनि हो । म आयोजक समिति र रेफ्रीहरूलाई नियम संगत र निष्पक्ष ढंगले खेल सञ्चालन गर्न अनुरोध गर्दछु ।” उनले भने ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर केसीले जिल्लाको खेलकुदलाई व्यवस्थित बनाउन सबै स्थानीय तहबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले खेल क्षेत्रको विकासका लागि पालिकाले लगानी बढाउँदै लगेको बताए भने सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न शुभकामना दिए । आयोजक गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले विकट भौगोलिक अवस्था र चिसो मौसमका बाबजुद पनि प्रतियोगितालाई सफल बनाउन पुथा उत्तरगंगा प्रतिबद्ध रहेको बताए ।
उद्घाटन सत्रको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका प्रमुख तथा प्रदेश सभा सदस्य हरि बहादुर थापाले रुकुम पूर्वमा खेलकुदको प्रचुर सम्भावना रहेको औंल्याए । उनले खेलाडीहरूलाई खेल भावना र अनुशासनको कसीमा रहेर आफ्नो उत्कृष्ट प्रदर्शन दिन निर्देशन समेत दिए ।
चिसोलाई चुनौती दिँदै सुरु भएको यो प्रतियोगिताले जिल्लाका उदीयमान खेलाडीहरूमा नयाँ ऊर्जा थपेको छ । प्रतियोगितामा छात्र तथा छात्रातर्फ भलिबल, एथलेटिक्स र मार्सल आर्ट्स लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।














प्रतिक्रिया