रुकुम पूर्वमा सञ्चालन गरिएको अन्तरपालिका स्तरीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा १२१ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्दै सिस्ने गाउँपालिका विजेता बनेको हो ।
फाइनल खेलमा भुमे गाउँपालिकालाई पराजित गर्दै सिस्ने गाउँपालिकाले उपाधि जित्दा भुमे गाउँपालिका उपविजेतामा सीमित भयो । प्रतियोगितामा पुथा उत्तरगंगा गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेको छ ।
सिस्ने र भुमे गाउँपालिकाबीच भएको निर्णायक खेलमा सिस्ने टिमका नवीन बोहोराले ६ छक्का प्रहार गर्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्नुका साथै ४ विकेटसमेत लिएर टिमको जितमा निर्णायक भूमिका खेल्नुभयो । त्यस्तै, विशाल सुनारले २ विकेट र इश्वर महराले १ विकेट लिनुभएको थियो । प्रतियोगितामा नवीन बोहोरा ‘बेस्ट बलर’ घोषित हुँदा इश्वर महरा उत्कृष्ट खेलाडी चयन हुनुभएको छ ।
उक्त प्रतियोगितामा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले समेत खेलाडीको रूपमा सहभागिता जनाउनुभएको थियो । तीनवटै गाउँपालिकाका कर्मचारीहरूको सहभागितामा सम्पन्न प्रतियोगिताले स्थानीय तहहरूबीच आपसी सहकार्य, समन्वय र मेलमिलापलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो ।
विजेता सिस्ने गाउँपालिकाले ट्रफी तथा मेडल प्राप्त गर्दा उपविजेता भुमे गाउँपालिका र सान्त्वना स्थान प्राप्त गरेको पुथा उत्तरगंगा गाउँपालिकालाई मेडल प्रदान गरिएको थियो ।
समापन समारोहमा बोल्दै सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले यस्ता खेलकुद प्रतियोगिताले जनप्रतिनिधि र कर्मचारीबीच आपसी समझदारी र सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले क्रिकेट खेल रुकुम पूर्वका लागि नयाँ अभ्यास भएकाले आगामी दिनमा यसलाई थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यसैगरी, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का र भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल बिकले खेलकुदको माध्यमबाट सहकार्य र सकारात्मक सोचको विकास भएको उल्लेख गर्नुभयो ।
पुस ३ गतेदेखि सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिता आज औपचारिक रूपमा समापन भएको हो । समापन कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, खेलाडी, पत्रकारलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने तीन जनालाई प्रमाणपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो ।
६ पुस २०८२, आइतबार, ,


































प्रतिक्रिया