लुम्बिनी प्रदेश

लगातारको भारी वर्षा : दाङ, बाँके र बर्दियामा बाढी र डुबानको खतरा



लुम्बिनी प्रदेश, – पछिल्ला ६ घण्टामा दाङ, बाँके र बर्दियाका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दाङको तुलसीपुर, अम्बापुर र जलकुन्डी, बाँकेको पश्चिम राप्ती र सिक्टा क्षेत्र, साथै बर्दियाको मानपुर वरपर भारी वर्षा मापन गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ।

लगातारको वर्षाका कारण बबई नदी, पश्चिम राप्ती, डुडुवा खोलालगायत साना–ठूला नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना बढेको विभागले चेतावनी दिएको छ। साथै, होचो भूभागहरूमा डुबानको खतरा पनि उच्च देखिएको छ।

सर्वसाधारणलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन र सुरक्षित स्थानमा सर्ने सुझाव विभागले दिएको छ।

आज दिउँसो लुम्बिनी प्रदेशसँगै सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही भू–भागहरूमा समेत भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार, ,