काठमाडौँ — पाकिस्तानको सिन्ध प्रान्तमा टिकटक कन्टेन्ट क्रिएटर समीरा राजपुत आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। पछिल्ला दुई महिनामा महिला टिकटक प्रयोगकर्तामाथि भएको यो तेस्रो रहस्यमय हत्या हो।
५८ हजारभन्दा बढी फलोअर भएकी राजपुतको मृत्यु विष सेवनका कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। उनकी १५ वर्षीया छोरीले आमाको हत्या विवाहको दबाब दिने व्यक्तिहरूले विष खुवाएर गरेको आरोप लगाएकी छन्। घटनासँग सम्बन्धित भन्दै उनका श्रीमान् र मोहम्मद इमरान नामका व्यक्तिलाई प्रहरीले हिरासतमा लिए पनि अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन।
यसअघि इस्लामावादमा १७ वर्षीया सना युसुफको गोली हानी हत्या गरिएको थियो भने जनवरीमा क्वेटामा १५ वर्षीया हिरालाई टिकटक अकाउन्ट नहटाएको भन्दै उनका बाबु र काकाले हत्या गरेका थिए। त्यस्तै, बलुचिस्तानमा एक बाबुले टिकटक भिडियो ‘इज्जत’मा धक्का भएको भन्दै १४ वर्षीया छोरीको हत्या गरेका थिए।
यी घटनाहरूले चर्चित टिकटक स्टार कन्दिल बलोचको २०१६ मा दाजुबाट गरिएको ‘अनर किलिङ’को स्मरण गराएको छ। यस्ता घटनापछि पाकिस्तान सरकारले टिकटकमाथि अनैतिक गतिविधिको आरोप लगाउँदै सेवा प्रतिबन्ध गर्ने चेतावनी दिइसकेको छ।
महिला सामाजिक सञ्जाल प्रयोगकर्तामाथि बढ्दो हिंसा र हत्याका घटनाले पाकिस्तानमा महिला अधिकार र सुरक्षामाथि गम्भीर प्रश्न उठाएका छन्। समीरा राजपुतको घटनामा न्याय सुनिश्चित गर्न आवाज उठ्न थालेको छ।














प्रतिक्रिया