रुकुमपूर्व — रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११, सेराबालुवामा सम्पन्न राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
श्री हिमालय श्रृङ्खला चौंरी युवा क्लबको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
विजेता बनेको पुलिस क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता एपीएफ क्लबले तीन लाख, तेस्रो स्थान प्राप्त गण्डकी प्रदेशले दुई लाख, र सान्त्वना स्थानमा रहेको मणि मुकुन्द भलिबल क्लबले एक लाख रुपैयाँ पुरस्कार पाएका छन्।
प्रतियोगिता साउन ४ गतेदेखि १० गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा देशका विभिन्न स्थानबाट ६ वटा टोली सहभागी थिए। खेलसँगै विविध सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो।
व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान गरिएको छ। नेपाल पुलिस क्लबका रेशम छन्त्याल ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। त्यसैगरी सर्वश्रेष्ठ स्पाइकरमा सुरेन्द्र केसी, सर्वश्रेष्ठ सर्भरमा सरोज बर्देवा, सर्वश्रेष्ठ ब्लकरमा सुगम सुनार पुरस्कृत भएका छन् । सर्वश्रेष्ठ डिफेन्डरमा भीम गाहा मगर, सर्वश्रेष्ठ सेटरमा बलराम गुरुङ र सर्वश्रेष्ठ प्रशिक्षकमा चन्द्र कुँवर व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत भएका छन।
प्रतियोगिताले ग्रामीण क्षेत्रमै राष्ट्रिय स्तरको खेलकुद आयोजना गर्न सकिने सम्भावनालाई देखाएको आयोजक संस्थाको भनाइ छ। यसले स्थानीय युवामा खेलप्रति रुचि र उत्साह थपेको बताइएको छ।














प्रतिक्रिया