जमुना गौतम पुन ;
रुकुमपूर्व, भूमे गाउँपालिका–१ स्थित चौँरीखर्क हाल देश–विदेशका सञ्चारमाध्यममा आकर्षणको केन्द्र बन्न पुगेको छ। फोटो पत्रकार कुलदीप न्यौपानेले कैद गरेका मनमोहक तस्बिरहरू राष्ट्रिय समाचार समिति (रासस) मार्फत सार्वजनिक भएपछि चौँरीखर्कले पर्यटनको नयाँ उज्यालो सम्भावना देखाएको छ।

समुद्र सतहबाट करिब ४,००० मिटरको उचाइमा फैलिएको चौँरीखर्क बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडाको क्षेत्र हो। यहाँ हरेक वर्ष मौसमी रूपमा फुल्ने रंगीचंगी बनफूलहरूले प्रकृतिलाई चित्रजस्तै सुन्दर बनाउँछन्। जताततै फिँजिएका सेता, निला, गुलाबी र पहेँला फूलहरू बगरमा टाँसिएर झैँ देखिन्छन्।

धुवाँले छोपिएजस्तै बादलहरू र पहाडका घुम्तीहरू बीच घुमिरहने पर्यटकहरू, फुलबीच चरिरहेका भेडाहरू, अनि स्वच्छ आकाशमुनिको हरियाली – यी तस्बिरहरूले चौँरीखर्कलाई केवल रमणीय मात्र होइन, विशिष्ट बनाएको छ।

मध्यपहाडी लोकमार्गको रुकुमपूर्व र बागलुङको सिमानास्थित पाथीहाल्नेबाट करिब तीन घण्टा पैदल यात्रापछि पुगिने यो क्षेत्र पछिल्ला केही वर्षयता आन्तरिक पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेको छ। विशेषतः गर्मी र बर्षायामको दोभानमा यहाँको बनफूलहरू यति सजीव हुन्छन् कि पर्यटकहरू फोटो खिच्न, रमाउन र शान्त वातावरण महसुस गर्न आकर्षित हुन्छन्।


चौँरीखर्कको अर्को विशेषता बनफूलहरूसँग जोडिएको अनुभूति हो। यहाँका फूलहरू जिद्दी छन् – नाम नठानिए पनि उनीहरू वर्षेनी फुल्छन्, आफ्नै ढंगमा मुस्कुराउँछन्, कहिले पर्यटकको केशमा, कहिले कानमा अडिएर पनि आफ्नै लयमा बाँचिरहन्छन्। भेडासँग खेल्ने, बादलसँग लुकामारी गर्ने र घुम्न आएका बटुवासँग निदाउने यी फुलहरू प्रकृतिको सरल कविता जस्तै लाग्छन्।
अहिले चौँरीखर्क हेर्नकै लागि विभिन्न जिल्लाबाट, पर्यटकहरूको लर्को लाग्न थालेको छ। यहाँको जैविक विविधता, सांस्कृतिक धरोहर र स्थानीय पर्यटन सम्भावनालाई नयाँ उज्यालो दिएको छ।
रुकुमपूर्वको यो स्वर्ग समान ठाउँ अब प्रचारको केन्द्र मात्र नभई प्रकृति र पर्यटनको संगमस्थल बन्दै गइरहेको छ।
बनफूलहरूले सजिएको यो ठाउँमा रहेका बेनाम फूलहरू वर्षेनी फुल्छन्। उनीहरू भेडासँग खेल्छन्, पर्यटकसँग निदाउँछन् र कहिलेकाहीं कसैको केशमा वा कानमा बसेर मुस्कुराउँछन्।
यस्ता दृश्यहरूले रुकुमपूर्वको प्राकृतिक, जैविक र सांस्कृतिक सम्पदालाई समेट्दै पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।














प्रतिक्रिया