समाचार

उत्तरगंगा नदीमा पुल नहुँदा जोखिमपूर्ण यात्रा, स्थानीयको जनजीवन कष्टकर



रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामार्फत सहिदमार्गमा २०७९ सालदेखि सवारीसाधन चल्न थाले पनि उत्तरगंगा नदीमा पुल नहुँदा स्थानीयले अझै जोखिम मोल्दै आवतजावत गर्नुपरेको छ।

विद्यालय जाने बालबालिका, बिरामी, वृद्ध तथा कृषकहरू बढी प्रभावित छन्। वर्षायाममा मात्र होइन, सुख्खा मौसममा समेत नदी पार गर्न डर लाग्दो अवस्था रहेको स्थानीयको गुनासो छ।

स्थानीय स्मृति लामा भन्छिन्, “सेरा खोलासम्म ५ मिनेटमा पुगिन्थ्यो, अब ३० मिनेट लाग्छ। पुल नहुँदा जनजीवन असहज छ।”
अभिमान नेपालीका अनुसार बर्खायाममा विद्यालय, अस्पताल र दैनिक काम ठप्प हुने गर्छ।

गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले ठेकेदारको लापरवाहीले पक्की पुलको काम रोकिएको बताए। अहिले बेलिब्रिज निर्माणका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरिए पनि निर्माणस्थलमा काम सुरु नभएको उनले जनाए।

पुल नहुँदा बाछिगाउँ, बिर्गुम, पद्ममि, खार्वाङ, हुकाम, मैकोट र पेल्लाका बासिन्दा प्रत्यक्ष प्रभावित छन्। स्थानीयहरू अब सहनसक्ने अवस्थामा नरहेको भन्दै तत्काल समाधानको माग गरिरहेका छन्।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार, ,