पर्यटन

पुथा उत्तरगंगा- ६ डिम्मुरगैरामा तातोपानी स्वास्थ्य पर्यटन महोत्सव हुने



रुकुम पूर्व । पुथा उत्तरगंगा गाउँपालिका-६ स्थित मयाङ डिम्मुरगैरा तातोपानीमा यस वर्ष तातोपानी स्वास्थ्य पर्यटन महोत्सव-२०८२ आयोजना हुने भएको छ ।

स्वास्थ्य पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको महोत्सवमा वडा स्तरीय पुरुष तथा महिला भलिबलसहित विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन २०८२ माघ ०१ गते हुने छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभामुख तुलाराम घर्ति मगर  उपस्थित हुने सम्भावना रहेको आयोजकले जनाइएको छ । साथै गाउँपालिका अध्यक्ष पुनिराज घर्ति मगर, स्थानीय तहका जनप्रतिनिधि, खेलाडी, बुद्धिजीवी, सर्वसाधारण तथा पत्रकारको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

महोत्सवअन्तर्गत पुरुष भलिबल, महिला भलिबल, पुरुष फुटसल, ब्याडमिन्टन, झाँक्री प्रदर्शन, तीर हान्ने, दोहोरी, छेलो जस्ता प्रतियोगिताहरू सञ्चालन गरिने छन् । विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा केही खेलमा आयोजकले तोकेअनुसार सान्त्वना स्थान हासिल गर्ने खेलाडी तथा टिमलाई नगद पुरस्कारसहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ ।

आयोजक समितिका अनुसार, यस महोत्सवले डिम्मुरगैरा तातोपानी क्षेत्रको पहिचान स्थापित गर्न, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न तथा युवालाई खेलकुद र स्वास्थ्यप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

महोत्सवसम्बन्धी थप जानकारी तथा दर्ताका लागि आयोजक समितिले सार्वजनिक गरेको सम्पर्क नम्बरमार्फत समन्वय गर्न सकिने जनाइएको छ ।

प्रकाशित : २६ पुस २०८२, शनिबार, ,