रुकुमपूर्व — सिस्ने गाउँपालिकामा कार्यालय सहायकका रूपमा कार्यरत कोइली शाहीको आत्महत्यापछि घटनासँग जोडिएका अभियुक्त पक्राउ नपरेको भन्दै पीडित पक्षले गम्भीर असन्तुष्टि जनाएका छन्।
असार २८ गते डेरामै झुण्डिएर आत्महत्या गरेकी शाहीको घटनापछि मृतकका बुबा दीपक कुमार शाहीले बाफिकोट गाउँपालिका–२ निवासी परिचन्द्र खत्रीविरुद्ध जिल्ला अदालत, रुकुमपूर्वमा आत्महत्या दुरुत्साहनको उजुरी दिएका थिए।
जाहेरीका आधारमा अदालतले पक्राउ पूर्जी जारी गरे पनि नौ दिन बितिसक्दा समेत अभियुक्त पक्राउ नपरेको भन्दै शाही परिवारले आक्रोश व्यक्त गरेको छ।
शाही परिवार र भातृ संगठनहरूले जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएको ध्यानाकर्षण पत्रमा प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको र राजनीतिक दबाबमा दोषीलाई जोगाउन खोजिएको आशंका व्यक्त गरिएको छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो। कोइली शाही हाम्रो समाजकी छोरी हुन्। यस्ता पीडादायी घटनामा हामी चुप रहन सक्दैनौं।”
उक्त पत्रमा मृतकलाई लामो समयदेखि मानसिक दबाब दिइएको र त्यसकै कारण उनले आत्महत्या गर्नुपरेको ठोस आधारहरू भएको दाबी गर्दै, दोषीलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउन माग गरिएको छ।
यस्ता घटनाको पुनरावृत्ति रोक्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग पीडित पक्षले दोहोर्याएका छन्।














प्रतिक्रिया