काठमाडौं, असार १० – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान समयमा नेपालका प्रमुख समस्या राजतन्त्र नभई दलाल पुँजीवाद र भ्रष्टाचार भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले “नेपालमा राजतन्त्र र सामन्ती निरंकुश शासन प्रणाली अब मुख्य चुनौती होइन” भन्दै नयाँ प्रकारका समस्या देशको विकासमा बाधक बनेको धारणा व्यक्त गरे।
उनले भने, “अहिले दलाल पुँजीपति, बिचौलिया र नोकरशाही पुँजीवादले देशलाई विध्वंसतर्फ धकेलिरहेका छन्। अदालतदेखि संसदसम्म, प्रशासनदेखि न्यायालयसम्म भ्रष्टाचार र हस्तक्षेप हावी छ।”
संघीय निजामती सेवा विधेयकमा भएको ‘छेडखानी’प्रति असन्तुष्टि जनाउँदै उनले नेपालमा केही मुठीभर शक्तिशाली दलाल समूहहरूले विकास र समृद्धिको यात्रालाई अवरुद्ध गरिरहेको उल्लेख गरे।
दाहालले भ्रष्टाचार, दलाल पुँजीवाद र नोकरशाही प्रवृत्तिविरुद्ध सबै दल र जनशक्तिहरू एक भएर संघर्ष गर्न आवश्यक रहेको बताए। उनले अबको प्राथमिकता व्यवस्थागत सुधार र आर्थिक न्यायमा केन्द्रित हुनुपर्नेमा जोड दिए।














प्रतिक्रिया