रुकुम पूर्व । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सहयोग गर्ने नेता–कार्यकर्ता तथा समर्थकहरुलाई सम्मान गर्दै नेकपा एमाले रुकुम पूर्वी भागले चुनावी समीक्षा तथा धन्यवाद – पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र उम्मेदवार लिलामणि गौतमको चुनावी अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने व्यक्तिहरुलाई लक्षित गरी फाल्गुन ३० गते रुकुमकोटमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई धन्यवाद – पत्र प्रदान गर्नुका साथै सामूहिक बनभोज कार्यक्रमसमेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार लिलामणि गौतमले निर्वाचनका क्रममा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण नेता-कार्यकर्ता तथा मतदाताप्रति आभार व्यक्त गरे । उनले पार्टीको अभियानलाई सफल बनाउन सबैले देखाएको एकता र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सक्रिय सहकार्यको अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले रुकुम पूर्वी भाग जिल्ला कमिटीका कावा अध्यक्ष गोपाल रेउलेको अध्यक्षता रहेको थियो भने अतिथिका रूपमा नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटा, लुम्बिनी प्रदेश कमिटी सदस्य भावना बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सिस्ने गाउँपालिका कमिटी अध्यक्ष देविलाल गिरीले गरेका थिए । कार्यक्रममा सहभागीहरूले निर्वाचनमा सहयोग गर्ने सबैप्रति सम्मान व्यक्त गर्दै पार्टी संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए ।
















प्रतिक्रिया