रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणी गौतमले क्लस्टर मिलाउने क्रममा रुकुम पूर्वलाई जनजाति कोटा परेपछि प्रतिनिधिसभा समानुपातिकतर्फको बन्द सूचीमा नाम फेरिएको स्पष्ट पार्नुभएको छ ।
अध्यक्ष गौतमका अनुसार माथिल्लो तहबाट जनजाति, त्यसमा पनि पुरुष उम्मेदवार पठाउन निर्देशन आएपछि यसअघि सिफारिस गरिएका नामभन्दा फरक व्यक्तिको नाम पठाउनुपरेको हो । सोहीअनुसार बागलाल बुढाको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो ।
उहाँले समानुपातिक प्रणालीमा जिल्लाबाट गरिएको सिफारिस अन्तिम नहुने र क्लस्टर मिलान तथा आवश्यकताअनुसार नाम थपघट हुन सक्ने प्रक्रिया रहेको उल्लेख गर्नुभयो ।
यसअघि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वका सचिव निराजन सिर्पालीले लेखेको र कान्ति भ्वाइसले प्रकाशित
“समानुपातिक नाम फेरबदलपछि एमाले रुकुम पूर्व तातियो”” शीर्षकको समाचारप्रति अध्यक्ष गौतमले असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ ।
https://www.kantivoice.com/2026/01/01/2247/

तर अध्यक्ष गौतमको यो तर्कप्रति एमालेकै केही नेताहरू असहमत देखिएका छन् । उनीहरूका अनुसार देशभरबाट सिफारिस गरिने नामहरूमा माथिल्लो तहबाट पहिल्यै ‘फलानो क्लस्टर’ वा ‘महिला–पुरुष’ भनेर तोकेर निर्देशन आउने अभ्यास छैन ।
नेकपा एमाले रुकुम पूर्वले पुस १० गते भावना बुढाथोकी, केशकुमारी तुलाचन र कमानसिंह डाँगीको नाम सिफारिस गरेको थियो । उक्त सिफारिस पत्रमा जिल्ला इन्चार्ज खेममान खड्का र जिल्ला अध्यक्ष लिलामणी गौतमको हस्ताक्षर रहेको छ । तर निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा भने बागलाल बुढाको नाम समावेश गरिएको छ ।
बागलाल बुढा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । त्यसैगरी भावना बुढाथोकी पनि लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने केशकुमारी तुलाचन जिल्ला कमिटी उप–सचिव र कमानसिंह डाँगी जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ ।



































प्रतिक्रिया