समाचार

अधिकार र सहभागिताको आवाज भूमेमा दलित सञ्जाल गठन



भुमे गाउँपालिका को आयोजनामा गाउँपालिका स्तरीय दलित सञ्जाल गठन तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । खाबाङबगरमा आयोजित उक्त कार्यक्रमले स्थानीय दलित समुदायको संगठन निर्माण, सशक्तीकरण तथा नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले आफ्नो अधिकार, स्थानीय तहमा सहभागिता, सामाजिक समावेशीकरण तथा नेतृत्व विकासका विषयमा प्रशिक्षण लिएका लिएका छन । प्रशिक्षण सत्रहरू व्यवहारिक तथा अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई स्थानीय स्तरमै सक्रिय भूमिका निर्वाह गर्न उत्प्रेरित गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमकै क्रममा गाउँपालिका स्तरमा दलित सञ्जाल गठन गरिएको छ । सञ्जालको अध्यक्षमा ओम प्रकाश वि.क. चयन हुनुभएको छ भने उपाध्यक्षमा नरेश छिनाल, सचिवमा आस्था वि.क., सहसचिवमा शिशिर सुनार र कोषाध्यक्षमा सिरकुमारी सुनार चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा भागिपुरा वि.क., एलिना वि.क., सीता वि.क., माल बहादुर परियार, संकल्प परियार, जेनजीबाट कमल वि.क., बशन्त नेपाली, भारती नेपाली, सुवर्ण सुनार, कुमार वि.क., बिचक नेपाली, सन्तोष सेतिमहर र केशव वि.क. चयन हुनुभएको छ ।

समाजसेवी चन्द्र रसाइलीले सहभागी सबैलाई धन्यवाद दिँदै सिकाइलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । साथै, दलित अधिकारकर्मी लिला प्रसाद सुनारले नवगठित सञ्जाललाई बधाई दिँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियारले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न यस्ता सञ्जालहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । साथै, प्रशिक्षकका रूपमा प्रहरी निरीक्षक हेम बहादुर वि.क., प्रमुख प्रशासकीय अधिकृत देविलाल वि.क. र अधिवक्ता गणेश सिर्पालीले विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले यस्ता सशक्तीकरणमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले नेपाली जनयुद्ध ले दलित तथा सीमान्तकृत समुदायलाई अधिकार र पहिचानको आवाज उठाउने आधार तयार गरेको बताउनुभयो । उहाँले अहिलेको समावेशी संरचना त्यही संघर्षको उपलब्धि भएको उल्लेख गर्दै नवगठित सञ्जाललाई सक्रिय भई अधिकारको प्रयोग र संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।

सहभागीहरूले यस्ता कार्यक्रमले समुदायलाई एकताबद्ध बनाउँदै स्थानीय निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउन प्रेरित गर्ने धारणा राखेका छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरू, पत्रकार लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।।

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार, ,