राजनिती

समानुपातिक नाम फेरबदलपछि एमाले रुकुम पूर्व तातियो



नेकपा एमाले रुकुम पूर्वले सिफारिस गरेको नामभन्दा फरक व्यक्तिको नाम प्रतिनिधि सभा समानुपातिकतर्फको बन्द सूचीमा समावेश भएपछि विवाद उत्पन्न भएको छ ।

जिल्ला पार्टीले सिफारिस गरेको तीनजनामध्येबाट नभई फरक व्यक्तिको नाम बन्द सूचीमा समावेश भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।

नेकपा एमाले रुकुम पूर्वले पुस १० गते भावना बुढाथोकी, केशकुमारी तुलाचन र कमानसिंह डाँगीको नाम प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारिस गरेको थियो । उक्त सिफारिस पत्रमा जिल्ला इन्चार्ज खेममान खड्का र जिल्ला अध्यक्ष लिलामणी गौतमको हस्ताक्षर रहेको छ ।

तर निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा भने बागलाल बुढाको नाम समावेश गरिएको पाइएको छ । बुढा हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

सिफारिस गरिएका व्यक्तिहरूमध्ये भावना बुढाथोकी पनि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने केशकुमारी तुलाचन जिल्ला कमिटी उप–सचिव तथा मानसिंह डाँगी जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ ।

जिल्ला कमिटीको औपचारिक सिफारिसलाई बेवास्ता गर्दै फरक नाम समावेश गरिनु पार्टी विधि र पद्धतिविपरीत भएको भन्दै एमाले रुकुम पूर्वका नेताहरूले गम्भीर आपत्ति जनाएका छन् । असन्तुष्ट नेताहरूले विधि, पद्धति र संगठनात्मक निर्णयको सम्मान नगरी अगाडि बढे पार्टी ठूलो राजनीतिक दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

साथै एमाले रुकुम पूर्वले प्रत्यक्ष तर्फ कसलाई सिफारिस गरेको छ, वा गर्न बाँकी छ । आधिकारिक निर्णय बाहिरि आएको छैन ।।

प्रकाशित : १७ पुस २०८२, बिहिबार, ,