रुकुम पूर्व — नेकपा (माओवादी केन्द्र) सम्बद्ध जनक्रान्ति घाइते योद्धा संगठन रुकुम पूर्वको दोस्रो बैठक मंगलबार सम्पन्न भएको छ। सदरमुकाम रुकुमकोटस्थित होटल विएलबीमा उक्त बैठक सम्पन्न भएको हो।
बैठकबाट संगठनको आन्तरिक विषयमा महत्वपूर्ण निर्णयहरू लिइएको छ। जसमा पार्टीभित्र देखा परिरहेको अन्तरसंघर्षलाई प्रमुख एजेन्डाका रूपमा उठाइएको छ। विशेषगरी, पार्टीका उपमहासचिव जनार्दन शर्माले उठाएको ‘पुस्ता हस्तान्तरण’को विषयमा गम्भीर छलफल गरिएको थियो। संगठनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो प्रक्रियामा सहमतिका साथ आधारित सहकार्य र एकताका साथ जनसेवामा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ।
बैठकले संगठन अन्तर्गत तीन वटा पालिकामा संयोजक तोकेको छ। सिस्ने गाउँपालिकामा हरीबहादुर थापा, भूमे गाउँपालिकामा कामी रोका र पुथाउत्तरगंगा गाउँपालिकामा भूमिराज विकलाई संयोजकको जिम्मेवारी दिइएको छ।
साथै, संगठनले भदौ महिनाभित्र सदस्यता पत्र वितरण गर्ने निर्णय गरेको छ। संगठनभित्र देखा पर्ने समस्याहरू पार्टीमार्फत समाधान गरिने र आर्थिक सञ्चालनका लागि प्रत्येक सदस्यबाट १ सय रुपैयाँका दरले रकम संकलन गर्ने निर्णय पनि बैठकबाट गरिएको छ।
बैठक जनक्रान्ति घाइते योद्धा संगठन रुकुम पूर्वका अध्यक्ष भूलबहादुर कामीको अध्यक्षतामा बसेको थियो। बैठकमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य उपेन्द्रलाल कामीको प्रमुख आतिथ्यता रहेका थियो। त्यस्तै, पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य जीवन केसी, सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्धन बुढालगायत पार्टीका नेता तथा संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।














प्रतिक्रिया