रूकुम पूर्व । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति रुकुम (पूर्व)को आयोजनामा संविधानको रक्षा र समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूले संविधानको रक्षा, जेनजी आन्दोलन र आगामी राजनीतिक दिशा–निर्देशनबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओलीले माओवादी केन्द्रकै एजेन्डा नयाँ पुस्ताले पक्रेको बताउनुभयो । उहाँले देशले देख्ने गरि, सबैले सुन्ने गरि जेनजी आन्दोलनले माओवादीको एजेन्डालाई जबर्जस्ती उजागर गरेको बताउनुभयो । नेता ओलीले देश दुर्घटनामा जान नदिन प्रचण्डले राष्ट्रपति सँग लामो छलफल गरेपछि संविधान बचेको बताउनुभयो । उहाँले माओवादीले जेनजी पुस्तालाई पनि समेटेर अगाडि लैजाने बताउँदै अब रुपान्तरण नहुने हो भने फेरि जेनजीको आन्दोलन हुने चेतावनी दिनुभयो । अरु पार्टीका नेताहरूको भन्दा प्रचण्डको अझै माहोल रहेको पनि उहाँले बताउनुभयो ।
पार्टीका केन्द्रीय वैकल्पिक सदस्य मेघबहादुर श्रेष्ठले जेनजी आन्दोलनमा विभिन्न षड्यन्त्रकारीहरूले धमिलो पानीमा माछा मार्न खोजेको बताउनुभयो । उहाँले सरकारको अहंकार, दम्भ र तानाशाही शासकीय शैलीका कारण जेनजी सडकमा आएको बताउदै दर्शन, विचार र राजनीतिक लाइन नहुँदा जेनजी आन्दोलन निष्कर्षमा पुग्न नसकेको उहाँको भनाइ थियो ।
पार्टीका केन्द्रीय वैकल्पिक सदस्य तथा जिल्ला पार्टी इन्चार्ज रामसुर बुढाले माओवादीकै एजेन्डा जेनजीले उठाएको बताउनुभएकाे छ । उहाँले अब कार्यकारी राष्ट्र प्रमुख लगायतका कुरालाई संस्थागत गर्नुपर्नेमा जोड दिदै जेनजीको आन्दोलन ठिक भए पनि अन्तिममा आएर आफ्नो माग तत्काल स्थापित गर्नु भन्दा संसद् विघटन र चुनाव बनाउनेमा मात्रै सीमित भएको टिप्पणी गर्नुभयो ।
पार्टीका केन्द्रीय वैकल्पिक सदस्य होम प्रकाश श्रेष्ठले जेनजी पुस्ताको आन्दोलनलाई स्वीकार गर्नुपर्ने बताउनुभएकाे छ । नेता श्रेष्ठले अब चुनावमा जानुपर्ने तर चुनाव हुन्छ कि हुँदैन भन्ने अनिश्चितता रहेको बताउनुहुँदै चुनावमा जने हाे भने हाम्रो अबको मुद्दा स्पष्ट हुन आवशक रहेको बताउनुभएको छ ।
पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य उपेन्द्रलाल कामीले अब श्रममा लाग्नुपर्ने बताउँदै जेनजीको आन्दोलनले समाजवादमा जाने आधारशिला तयार गरेको बताउनुभएकाे छ । नेता कामीले अब सत्ताकाे नेतृत्व गर्ने व्यक्ति नेताले पहिले नै आफ्नो भिजन सार्वजनिक अथवा जनतालाई बताउन आवश्यक रहेको बताउनुभएको छ ।
पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य रुपधन कामीले जिल्ला पार्टीको सचिव तत्काल बनाउनुपर्ने सुझाव राख्नुभयो । उहाँले जिल्ला पार्टी सचिव चयन नहुदा विभिन्न कामहरू अस्तव्यस्त बनेको बताउनुभएको छ ।
अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष जोखबहादुर लामिछानेले जनता सही भएको बरु नेताहरू सुध्रिनुपर्ने आवश्यक रहेको बताउनुभएकाे छ । अहिलेकाे याे परिस्थितिमा सबैले संविधानकाे रक्षा नै सबैकाे हित हुने बताउनुभएको छ ।
नेपाल दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष हर्कवीर कामीले उत्पादन र श्रमलाई अगाडि बढाउन नसके समाजवादमा जान पनि नसकिने बताउनुभएकाे छ । कामीले हरेक राजनितीज्ञ व्यक्तिको श्रम सँगै व्यवसाय हुन आवश्यक रहेको बताउनुभएको छ ।
त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइलीले संविधान रक्षाका लागि माओवादी अग्रपंक्तिमा आउनुपर्ने आवश्यकता औंल्याउँदै केन्द्रीय नेतृत्वमा रहेका वाइसीएल र विद्यार्थीहरूले जेनजीकाे आन्दोलनमा किन प्रचण्डको सुरक्षा र पार्टी कार्यालयकाे सुरक्षा गर्न नसकेको भन्दै प्रश्न गर्नुभएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा अन्य उपस्थितिहरुले पनि नेताहरू अब सुध्रिनु पर्ने नत्र जेनजी जस्तै आन्दोलन फेरि भैरहने कुरामा कुनै दुई मत नभएको बताएका छन् ।
कार्यक्रमकाे समापन गर्दै जिल्ला पार्टी संयोजक कुमारी बरालले संविधानकाे रक्षा नै अहिलेकाे प्रमुख जिम्मेवारी राजनीतिक दलहरूलाई रहेको र त्यसमा पनि अझ बढी जिम्मेवारी माओवादीलाई हुने बताउनुभएको छ । संयोजक बरालले जिल्लामा पार्टीको सबै जनवर्गीय संगठनहरुकाे बैठक भेला तथा छलफल एक चरणको सकिएको र अब फेर आफ्नो गतिविधिलाई निरन्तरता दिने कुरामा जिल्ला पार्टी अग्रसर रहेको बताउदै उक्त अन्तरक्रिया कार्यक्रमकाे समापन गर्नुभएको छ ।।








प्रतिक्रिया