समाज

रुकुमपूर्वमा हरितालिका तीज विशेष



रुकुमपूर्व मगंलबार । हिन्दू धर्मावलम्बी महिलाहरूको महान् पर्व हरितालिका तीजलाई यस वर्ष रुकुमपूर्वमा पनि विशेष उत्साह र उमंगका साथ मनाइँदैछ । नेपाली समाजमा महिलाको धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनसँग गहिरो सम्बन्ध राख्ने यो पर्व भगवान् महादेव र पार्वतीको पवित्र मिलनको स्मरणमा हरेक वर्ष तीज विशेष रूपमा मनाइन्छ ।

पौराणिक कथनअनुसार देवी पार्वतीले कठोर व्रत बसेर भगवान् महादेवलाई वरका रूपमा प्राप्त गर्नुभएको विश्वास गरिन्छ । त्यसबेलादेखि नै सुरु भएको तीज व्रतको परम्पराले महिलाको आत्मीयता, श्रद्धा, एकता र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाएको छ ।

यस अवसरमा अविवाहित युवतीहरूले योग्य जीवनसाथीको प्राप्तिका लागि व्रत बस्ने र विवाहित महिलाहरूले आफ्ना श्रीमान्, परिवार र सन्तानको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने परम्परा रही आएको छ । रुकुमपूर्वका विभिन्न मन्दिर, धार्मिक स्थल र सामुदायिक स्थानहरूमा यस वर्ष पनि तीज विशेष पूजा–अर्चना, गीत–नृत्य तथा सांस्कृतिक कार्यक्रमहरूको तयारी तीव्र पारिएको छ ।

सामाजिक सद्भाव, पारिवारिक प्रेम र सांस्कृतिक एकतालाई झन् मजबुत बनाउने उद्देश्यले जिल्लाभरका महिला समूह, संघ–संस्था र धार्मिक समितिहरूले विविध कार्यक्रमको आयोजना गरिरहेका छन् । रुकुमपूर्वको सदमुकाम सहितका विभिन्न क्षेत्रमा तीज विशेष भेला, सांस्कृतिक साँझ र सामूहिक नृत्य कार्यक्रम हुने बताइएको छ।

यसै अवसरमा मगंलबार रुकुमपूर्वको सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालयको घेरा भित्र रहेको धार्मिक स्थलमा पूजा-अर्चना गरिएको छ । करिब बिहान देखिनै उक्त स्थानमा महिलाहरुले पूजा- अर्चना गरेका थिए ।

प्रकाशित : १० भाद्र २०८२, मंगलबार, ,