समाचार

रूकुम पूर्वमा घाँस काट्ने सिजन सुरु



रूकुम पूर्व । रूकुम पूर्वका धेरै स्थानमा मौसमी घाँस काट्ने सिजन सुरु भएको छ । तिहार सकिएलगत्तै रूकुम पूर्वका विभिन्न क्षेत्रमा घाँस काट्ने कार्य सुरु भएको हो ।

यहाँका स्थानीयवासीहरूले कार्तिक महिनामा घाँस काट्ने र काटेको घाँस सुख्खा यामसम्म प्रयोग गर्ने गर्छन् । सिस्ने गाउँपालिका–२ का स्थानीय कृषक गोविन्द कामीका अनुसार गाउँतिर घाँस काट्ने सिजन सुरु भएको छ । उनका भनाइअनुसार गाउँमा एक–अर्काको “पहरीमो” गर्दै घाँस काट्ने चलन छ, जसअन्तर्गत केही दिनमै सिजनको समापन गरिन्छ । काटिएको घाँस बोकेर लिएर थुपारेर “घाँसको लो” (थुप्रो) बनाएर राखिन्छ, जसले आगामी घाँस पलाउने सिजनसम्म जनावरका लागि आहार पुर्‍याउँछ ।

भूमे गाउँपालिका–३ का स्थानीय कृषक भक्तु कामीका अनुसार त्यहाँका कृषकहरूले सिजन अनुसार निश्चित समयमा बन फुक्का गरी घाँस काट्ने गर्छन् । वर्षको समय र मौसमको अवस्था हेरी तय गरिएको निश्चित अवधिभित्र गाउँका सबै स्थानीय कृषकहरूको सहभागितामा घाँस काट्ने परम्परा रहेको उनले बताए । यसले केही समयका लागि घरपालुवा जनावरहरूलाई आहार उपलब्ध गराउने गर्छ ।

त्यस्तै, पुथाउत्तरगंगा गाउँपालिकामा पनि तिहार सकिएलगत्तै घाँस काट्ने सिजन सुरु भएको स्थानीय अञ्जली समालले जानकारी दिए । उनका अनुसार अहिले पनि एक–अर्काको सहयोगमा घाँस काट्ने कार्य जारी छ ।

दसैं–तिहारपछि रूकुम पूर्वका गाउँबस्तीहरूमा हिउँदे आहारका लागि घाँस काट्ने कार्य व्यापक रूपमा भइरहेको छ । यसले हिउँदभर जनावरलाई आवश्यक आहार उपलब्ध गराउने उद्देश्य राखेको स्थानीय कृषकहरू बताएका छन् ।

प्रकाशित : १५ कार्तिक २०८२, शुक्रबार, ,