रुकुम पूर्व । रुकुम पूर्वको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा ‘सिस्ने विद्यार्थी दर्पण’ पुस्तक विमोचन गरिएको छ ।
शनिबार क्याम्पस परिसरमा आयोजित कार्यक्रममा उक्त पुस्तकको औपचारिक विमोचन गरिएको हो । स्ववियु अध्यक्ष अम्मर खत्रीका अनुसार सिस्ने विद्यार्थी दर्पण स्ववियुको पहलमा तयार गरिएको प्रकाशन हो । अंक–१ का रूपमा प्रकाशित करिब ६० पृष्ठको यस पुस्तकमा क्याम्पसमा अध्ययनरत तथा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरूको लेख, विचार र रचनाहरू समेटिएका छन् । पुस्तकले क्याम्पसको इतिहास, विद्यार्थीहरूको वर्तमान अवस्था र भविष्यका सम्भावनालाई समग्र रूपमा उजागर गरेको छ ।
पुस्तक विमोचनमा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर के.सी.ले गरेका थिए । उनले विद्यार्थीहरूको सिर्जनशीलता र लेखन संस्कृतिको विकासमा पुस्तकले महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै स्ववियुको प्रयासलाई सकारात्मक सुरुवातका रूपमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले शैक्षिक क्षेत्रमा यस्ता सिर्जनात्मक काम गर्नु चुनौतीपूर्ण हुने उल्लेख गर्दै स्ववियुको सक्रियता, समर्पण र निरन्तरताको उच्च मूल्याङ्कन गरेका थिए । रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोटका प्रधानाध्यापक पञ्चबहादुर केसीले पुस्तकको विषयवस्तु, उद्देश्य र शैक्षिक महत्वमाथि आफ्ना धारणा राख्दै टिप्पणी गरेका थिए ।
त्यसैगरी सिस्ने शिक्षा क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिकृष्ण गौतम, क्याम्पस प्रमुख तीव्र गौतम, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन स्ववियुका सचिव विशाल घर्ति मगरले गरेका थिए भने स्वागत मन्तव्य सह–सचिव दुर्गा विश्वकर्माले गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता स्ववियु सभापति अम्मर खत्रीले गरेका थिए । समापन मन्तव्यमा उनले पहिलो प्रयास भएकाले केही कमी कमजोरी हुन सक्ने उल्लेख गर्दै आगामी दिनमा सुधारका लागि सबैको सल्लाह र सुझावलाई मार्गदर्शनका रूपमा लिइने बताएका थिए ।




































प्रतिक्रिया