बिचार

हरित तथा स्वच्छ रुकुमकोट अभियानको आवश्यकता किन ?



रुकुम (पुर्व) को सदरमुकाम रुकुमकोटलाई हरित तथा स्वच्छ बनाउने अभियानको थालनी गर्दै गर्दा कतिपयलाई यो बिषय सामान्य लाग्न सक्छ भने कतिपयलाई स्टन्टबाजी गरे जस्तो पनि लाग्न सक्छ ।  अर्गानिक जिल्ला घोषणा भइसकेको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कान्छो हिमाली जिल्लाको रुपमा परिचित रहेको रुकुम (पुर्व) र त्यसको सदरमुकाम रुकुमकोटलाई हरित तथा स्वच्छ शहर बनाउने गरि अभियान थाल्नुपर्ने आवश्यकता किन भयो ? र यस अभियानको दूरगामी महत्त्व के छ ? भन्ने बारेमा विभिन्न क्षेत्रका सरोकारवालाहरुको बीचमा अन्तर्क्रिया, छलफल, बहस चलाउने उद्देश्यले यो बिषय वस्तुको उठान गरिएको छ ।  यसमा सबैले आ-आफ्नो ज्ञान- क्षमता र अनुभवको आधारमा सल्लाह-सुझाव सहितको बौद्धिक लगानी गर्नुहुनेछ भन्ने बिश्वास सहितको अपेक्षा गरिएको छ ।

क) रुकुमकोटको बिगत र वर्तमान अवस्था बारे ।

मूलतः बाउन्न पोखरी त्रिपन्न टाकुरीको पहिचानबाट जिल्लाको नाम नै स्थापित भएको रुकुमकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण उपत्यका हो ।  त्यतिमात्र नभइ कमलदहको मुहानबाट छानिएर निस्किएको लुष्पाधाराको कञ्चन पानी, शेराखेत देखि छिप्रिदह हुदै रुलिखोला सम्मको सिमसार क्षेत्र, पाखागाउँदेखि काँडागाउँ हुँदै सिला बर्नाखुली सम्मको ओसिलो क्षेत्र पनि यसै रुकुमकोट उपत्यकाभित्रै पर्दछन् । रुकुमकोट नामाकरण हुनुपुर्व सर्प प्रसस्त पाइने हुँदा सर्पकोट नामले परिचित यहाँको पुरातात्त्विक सम्पदाहरु मंगोल मूलवासी राजा बोक्सेजार दरवारको भग्नावशेष, ठाँटी डाँडामा रहेको माओवादी जनयुद्धकालिन द्वन्द्वस्थल, चामे राजाले शिकार खेल्न जाँदा विश्राम गर्ने चामराजा थला धुरी लगायतका  ऐतिहासिक सम्पदाहरु यस रुकुमकोट उपत्यकाभित्र रहेका छन् । रुकुमकोटको सिरानी बनेर रहेको रुमालबारा गाउँ ,  काँध बनेर भार थामेको  खोपीचार, हात-खुट्टा झै  अंग बनेका  खोर्सले-रानीकोट, औंलाबाङ, धाउने -बालुवा बगर पनि  रुकुमकोटका अति महत्त्वपूर्ण स्थान हुन ।
        रुकुमकोट उपत्यका भित्रका प्राकृतिक, पुरातात्त्विक, साँस्कृतिक सम्पदाहरु बढ्दो शहरीकरणसंगै अहिले  लोपउन्मुख अवस्थामा रहेका छन् । बिना मापदण्ड बनाउने  अव्यवस्थित भौतिक पुर्वाधारका संरचनाहरु र घरहरु निर्माण गर्दै जाँदा त्यसको पहिलो असर बाउन्न पोखरी त्रिपन्न टाकुरीको  स्वरुप नै नष्ट हुने अवस्थामा छ भने  प्लास्टिकजन्य तथा अन्य फोहोरका वस्तुहरुले वातावरणीय रुपमा नै प्रदुषण फैलिएर महामारीको बिपत निम्त्याउने खतरा पनि बढ्दो क्रममै छ ।  स्थानीय तहबाट फोहर ब्यवस्थापनका लागि आवश्यक बजेटको ब्यवस्था गरेर काम गर्दै आएको भए तापनि बैेज्ञानिक योजना बनाएर कार्यसम्पादन हुन सकेको छैन । जिल्ला सदरमुकाम बिवादले अवरुद्ध भएका योजनाका कामहरु सदरमुकामको बिवाद समाधान हुने भएपछि अब बिस्तारै बिकासको गतिले लय पकड्ने सम्भावना बढेर गएको छ

ख)  अभियानको  आवश्यकता र महत्त्व

हरियाली तथा स्वच्छ शहर – सदरमुकाम रुकुमकोटबासीको रहर  ! भन्ने मूल नारा सहित सचेत  नागरिक स्तरबाट थालनी गर्न खोजिएको “हरित तथा स्वच्छ रुकुमकोट अभियान ”  मूल रुपमा रुकुमकोटको मौलिकता सहितको प्राकृतिक तथा साँस्कृतिक  सम्पदाहरुको संरक्षण गर्दै पर्यावरणमैत्री बिकासको अवधारणालाई  लागू गर्न  राज्यलाई सहयोग  पुर्‍याउने उदेश्य  नै हो ।  बिकास योजनालाई जनताको सुबिधा र समृद्धिको चाहनासंग जोड्न  पर्यावरणमैत्री  पर्यटकीय क्षेत्रको रुपमा  बिकास  गर्न यो  अभियानले सहयोग पुर्याउने छ । उदाहरणका लागि रुकुमकोटका बाउन्न पोखरी र  त्रिपन्न टाकुरीलाई संरक्षण गरेर  योजनाबद्ध रुपमा  पर्यटन प्रबर्द्धनमा लाग्ने हो भने बाह्य पर्यटहरुलाई रुकुमकोटको अवलोकन गर्नका लागि कम्तीमा एक हप्ता पर्यटक बस्न सक्ने बनाउन सकिन्छ ।  अहिले रुकुमकोटलाई अवलोकन गर्न  पर्यटकहरु दुई घण्टा अडिने अवस्था छैन  ।  अहिले काम बिशेषले आएका पर्यटकहरु रुकुमकोटमा एक- दुईदिन बस्नु फरक कुरा हो ।  रुकुमकोटलाई हरियाली र स्वच्छ शहर बनाउन सकियो भने पर्यटन  प्रबर्द्धनको लागि महत्त्वपूर्ण योगदान पुगेको हुनेछ ।  रुकुम (पुर्व) को आर्थिक समृद्धि र बिकासको मूल आधार भनेको नै पर्यटन ब्यवसाय हुनेछ ।  रुकुम (पुर्व) लाई प्रकृतिले अनुपम उपहार दिएको छ तर हाम्रो सोंच  उपहारलाई उपेक्षा गर्दै कस्तुरीले झै आफ्नै नाभिमा रहेको बिणाको  सुगन्ध थाह नपाइ खोज्दै भौंतारिरहेको  जस्तै अवस्था छ ।  तसर्थ यो अभियान  आफै भित्रको सुगन्ध र सुन्दरतालाई दुर्गन्ध र कुरुपतामा परिणत हुन नदिन  नागरिक स्तरबाट गरिने सचेत पहलकदमीको रुपमा  सबैले आत्मसात गर्न  जरुरी छ ।  यसलाई कुनै राजनीतिक कोणबाट हेर्ने वा ब्यक्तिगत रुपमा  पुर्वाग्रही ढंगले  अवमूल्यन गर्ने खालको  कार्यशैलीले हामीलाई ठिक ठाउँमा पुर्याउदैन । यो  अभियान रुकुमकोटबासी हरेक नारिकहरुले  मेरो दायित्वसंग जोडिएको बिषय हो भन्ने बुझाईबाट सक्रियतापुर्वक लाग्ने हो भने  निकट भविष्यमै रुकुम (पुर्व) को  मुहार बदल्ने सम्भावनाको ढोका खोल्न सकिने छ ।

ग) अभियानका कार्यक्रमहरु कसरी सञ्चालन गर्ने ?

      हरित तथा स्वच्छ रुकुमकोट अभियानका कार्यक्रमहरुलाई  समय अवधिका हिसाबले अल्पकालिन  र दीर्घकालीन बनाएर सञ्चालन गर्नुपर्ने हुन्छ भने  चरणका हिसाबले प्रचारात्मक र क्रियात्मक चरण बनाएर  सञ्चालन गर्दा अलि ब्यवस्थित र प्रभावकारी बन्न सक्छ ।
       अल्पकालिन अवधिमा  प्रचारात्मक  चरणका कार्यक्रमहरु बनाएर  जनचेतनामूलक पर्चा छपाइ गरेर बितरण गर्ने, भित्तेलेखन  गर्ने ,  रेडियोबाट  जनहितका लागि  सन्देश प्रशारण गर्ने,  रुकुमकोटबासी अभियन्ताहरुले आफ्नो फेसबुक  प्रोफाइलमा अभियानको नारा सहितको लोगो बनाएर राख्ने,  अभियानको आवश्यकता र महत्वको बारेमा लेखहरु लेखेर पत्रपत्रिकामा छपाउने,  अभियानमा भए गरेका कामकाजको फोटो  सहितको यथार्थ रिपोर्ट राखेर व्यापक प्रचारप्रसार गर्ने कार्यहरु यस  चरणको समय अवधिमा  गर्न सकिन्छ ।
        दीर्घकालिन अवधिमा क्रियात्मक चरणका कार्यक्रमहरु बनाएर नियमित साप्ताहिक / मासिक  बजार सरसफाइ तथा अनुगमन,  स्थानीय तहबाट फोहर ब्यवस्थापनको कार्यबिधि र कार्यक्रम बनाएर आवश्यक बजेटको ब्यवस्था गर्ने,  प्रत्येक टोलमा फोहर ब्यवस्थापन सम्बन्धि तालिम दिने,  फोहरलाई मोहरमा बदल्ने  योजना सहित निजि क्षेत्रबाट गरिएका काममा सहयोग पुर्याउन स्थानीय तहबाट  प्रोत्साहन बापत अनुदान  उपलब्ध गराउने,  जिल्ला  शिक्षा ,कृषि, वन, घरेलु उद्योग कार्यालय तथा सामाजिक संस्थाहरुबाट पनि  अभियानलाई सहयोग पुग्ने गरि  वृक्षरोपण तथा सरसफाइ सम्बन्धि कार्यक्रम गर्नुका साथै देश-बिदेशमा रहेर रोजगारमा जोडिएका रुकुमकोटका  मनकारी योग्य नागरिकहरुले  पनि अभियानमा खटिनेहरुलाई  प्रोत्साहित गर्न आर्थिक तथा आवश्यक सामाग्रीहरु उपलब्ध गराउने लगायतका कार्यहरु  क्रियात्मक चरणको  दीर्घकालिन अवधिमा  गर्न सकिन्छ । यस अभियानमा  संस्थागत तथा ब्यक्तिगत रुपमा  निर्वाह गरेको भूमिकालाई उचित सम्मान र प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु सिस्ने गाउँपालिका,  जिल्ला स्थित सरकारी  कार्यालय  र गैरसरकारी संस्थाहरुले  पनि तय गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार, ,