बिचार

परिवारदेखि समाजसम्म : बालबालिका नै भविष्यका निर्माता



बालबालिका केवल घरको खुशी मात्र होइनन्, उनीहरू राष्ट्रको भविष्य पनि हुन् । कुनै पनि समाज वा राष्ट्रले आफ्नो भविष्यको दिशा निर्धारण गर्न चाहन्छ भने बालबालिकामा लगानी अनिवार्य हुन्छ । यो लगानी पैसा वा सम्पत्तिमा मात्र होइन, प्रेम, समय, शिक्षा, सद्गुण र अनुशासनमा हुन्छ ।

१. बालबालिकाको प्रारम्भिक विकास र परिवारको भूमिका

संसारका सबैभन्दा सक्षम शिक्षक भनेका आमाबुबा नै हुन् । बालबालिकाले पहिलो पटक भाषाभन्दा अघि आचरण, बोली र व्यवहार सिक्छन् । जब आमा–बुबा बच्चासँग खेल्छन्, घुम्छन्, समय दिन्छन्, त्यही क्षणले उनीहरूलाई आत्मीयता, सुरक्षा र जिम्मेवारी सिकाउँछ । परिवारको बानी, बोल्ने तरिका र व्यवहारले नै उनीहरूको जीवनमा गहिरो छाप छोड्छ । डॉ. मारिया मोन्टेसरी भन्छिन् – “बच्चाले देखेको, सुनेको र अनुभव गरेको नै उसको भविष्यको आधारशिला हुन्छ ।” त्यसैले बालबालिकाको पहिलो पाठशाला भनेकै परिवार हो ।

आमाको गर्भअवस्था देखिनै मस्तिष्कको विकास सुरु हुन्छ र ८ वर्ष पुग्दासम्म करिब ७५–८० प्रतिशत दिमाग निर्माण भइसकेको हुन्छ । ०–५ वर्षका बालबालिकाका लागि आमा नै सबैभन्दा महान् लाग्छिन्, ६–८ वर्षमा बुवा सर्वश्रेष्ठ लाग्छ भने ९–१२ वर्षसम्म उनीहरूले आफ्ना आमाबाबुलाई “सर्वश्रेष्ठ साथी” ठान्छन् । यस क्रममा बालबालिकासँग प्रेमपूर्वक व्यवहार गर्नु, समय दिनु र असल जीवनशैलीमा मार्गदर्शन गर्नु अत्यन्त जरुरी हुन्छ । गाउँतिर चुरोट, रक्सी जस्ता कुरो ल्याउन पठाउनु, उनीहरूकै अगाडि झगडा गर्नु वा असभ्य बानी देखाउनु हुँदैन ।

बालबालिका केवल किताब पढेर मात्र होइन, सुनेर, देखेर र आफै गरेर सिक्छन् । त्यसैले शिक्षा प्रणालीले यी तीनवटै सिकाइका ढाँचालाई सम्बोधन गर्नुपर्छ । यसरी मात्र उनीहरूको सिर्जनशीलता, आत्मविश्वास र उज्यालो भविष्य सुनिश्चित हुन्छ ।

२. प्रविधि, समाज र राष्ट्रको जिम्मेवारी

आजको पुस्ता मोबाइल, इन्टरनेट र भिडियो गेमबीच हुर्किरहेको छ । प्रविधि सिकाइ र सिर्जनशीलताको ठूलो साधन हो, तर अनियन्त्रित प्रयोगले उनीहरूलाई एक्लोपन, अस्वस्थ प्रतिस्पर्धा र ध्यान भंग हुने समस्यामा पुर्‍याइरहेको छ । लामो समय स्क्रिन हेर्दा सामाजिक सम्बन्ध कमजोर हुन्छ र मानसिक असन्तुलन देखापर्छ । बालबालिकाले केवल किताब पढेर मात्र होइन, देखेर सिक्छन् । यदि आमाबाबु सत्य बोल्छन् भने उनीहरूले पनि सत्य बोल्न सजिलै सिक्छन् । घरमा परिश्रम, धैर्य, दयालुता र क्षमाशीलताको अभ्यास हुन्छ भने बच्चाले त्यो जीवनशैली आत्मसात गर्छ । अरस्तु भन्छन् – “बालबालिकामा सिकाइएको गुण नै भविष्यमा उनीहरूको चरित्रको रूप लिन्छ ।”

समाजले बालबालिकाको अधिकार सुरक्षित गर्नुपर्ने, विद्यालयहरूले सिर्जनशीलतालाई प्रोत्साहन गर्नुपर्ने र राष्ट्रले अवसरका ढोका खोल्नुपर्ने हुन्छ । महात्मा गान्धी ले भनेका छन्  “आजका बालबालिका नै भोलिका राष्ट्रका निर्माता हुन् ।” यदि परिवार, समाज र राष्ट्र एकै स्वरमा बालबालिकालाई प्राथमिकता दिन्छन् भने मात्र भोलि उज्यालो हुन्छ। नेल्सन मण्डेला ले भनेका छन् – “विश्वलाई परिवर्तन गर्ने सबैभन्दा शक्तिशाली हतियार शिक्षा हो ।” तर शिक्षा केवल प्रविधि वा किताबमा सीमित नभई जीवन मूल्यमा आधारित हुनुपर्छ ।

निष्कर्ष

बालबालिकामा लगानी गर्नु भनेको घरको उत्तराधिकार सुरक्षित गर्नु मात्र होइन, राष्ट्रको भविष्य निर्माण गर्नु हो । उनीहरूलाई प्रेम र समय दिनुहोस्, प्रविधिको सही प्रयोग सिकाउनुहोस्, नैतिक मूल्यहरूको बिउ रोप्नुहोस्, उनीहरूको सिर्जनशीलता र मानसिक स्वास्थ्यमा ध्यान दिनुहोस् र प्रत्येक बालबालिकालाई सुनेर, देखेर र आफै गरेर सिक्ने अवसर दिनुहोस् । यसरी मात्र बालबालिकाले जिम्मेवार, सशक्त र उज्यालो भविष्यका निर्माता बन्न सक्नेछन् ।

रुबेन बिश्वकर्मा र उज्यालो आवास मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित कान्ति भ्वाइसको तर्फबाट ६१ औं राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक र शुभेच्छुक नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई सादर प्रस्तुत गर्दछौं । बालबालिकाको मुहारमा झल्किएको हाँसोले हाम्रो समाज उज्यालो बनाओस्, उनीहरूको सपना पूरा होस् र हाम्रो राष्ट्रले भविष्यमा गर्व गर्ने जिम्मेवार पुस्ता तयार गरोस् ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार, ,