खेदकुद

रुकुमपूर्वमा प्रि–फुटबलको नयाँ यात्रा : ‘लायन्स कप–२०८२’ सुरु



रुकुमपूर्व, साउन ९ – रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा अहिले फुटबलको रौनकले चहलपहल बनेको छ। “बनाऔं खेलबाट पहिचान, पूर्वी रुकुम पर्यटन प्रवर्द्धन हाम्रो अभियान” भन्ने सन्देशसहित ‘प्रथम लायन्स प्रि–फुटबल कप–२०८२’ औपचारिक रूपमा सुरु भएको हो।

रुकुमकोट लायन्स क्लबको आयोजनामा रुक्मिणी माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा रुकुमपूर्व र छिमेकी रुकुमपश्चिमका गरी २० टिम प्रतिस्पर्धामा उत्रिएका छन्। आयोजक क्लबले प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै स्थानीय खेलकुदको विकास, युवाको संलग्नता र पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

उद्घाटन समारोह क्लब अध्यक्ष हरि बहादुर ओलीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख मोहन बहादुर केसी थिए भने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने विशेष अतिथि रहे।

कार्यक्रममा सिस्ने गाउँपालिका वडा नं. ५ का अध्यक्ष वीरेन्द्र बस्नेत, वडा नं. ६ का अध्यक्ष पूर्णबहादुर मल्ल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपेन्द्रलाल कामी, प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर बि.क., नेपाल पत्रकार महासंघ रुकुमपूर्वका सचिव निराजन सिर्पाली लगायतको उपस्थिति रहेको थियो।

क्लबका सल्लाहकार सदस्य विशाल गिरीले स्वागत मन्तव्य दिए भने कार्यक्रम सञ्चालन अम्मर खत्रीले गरेका थिए।

लायन्स क्लबले यसै आर्थिक वर्षभित्र आकर्षक पुरस्कार राशियुक्त ठूलो प्रतियोगिता आयोजना गर्ने तयारी पनि गरिरहेको जानकारी दिएको छ।

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार, ,