रुकुमपूर्वको भूमे गाउँपालिका–७ मा लगातारको वर्षाका कारण दुई छुट्टाछुट्टै विपद् सम्बन्धी घटनाहरू घटेका छन्। एकातिर शहीद मार्गअन्तर्गत बाघतारे क्षेत्रमा आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ भने अर्कातर्फ खोलामा आएको बाढीले एक घर बगाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण यातायात सेवा ठप्प भएको छ र सर्वसाधारणको आवतजावतमा समेत कठिनाइ भएको छ। सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक ओमभक्त चौधरीको कमाण्डमा तीन जना प्रहरी टोली घटनास्थलमा खटिएको छ। महत प्रहरी चौकीबाट करिब ६ किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही गाउँपालिकाको धर्मशाला भन्ने स्थानमा खोलामा आएको बाढीले स्थानीय साउने रोकाको दुई तल्ले कच्ची घर पूर्ण रूपमा बगाएको छ। आइतबार बिहान करिब ८:४५ बजे आएको बाढीले घरभित्र रहेका सम्पूर्ण सामग्री नष्ट भएका छन्।
बाढीले जयमान रोकाको बंगुर खोरसमेत बगाएको भए पनि बंगुरहरू जीवितै फेला परेका छन्। घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। बाढीपछिको अवस्था बुझ्न महत प्रहरी चौकीबाट थप टोली खटिएको छ। घटनास्थल करिब ३ किलोमिटर दक्षिणतर्फ रहेको बताइएको छ।
हाल दुवै घटनास्थलमा प्रहरीको सक्रियता जारी रहेको छ। थप जोखिम हुन नदिन स्थानीय तहसँग समन्वय गरी आवश्यक कदम चाल्ने तयारी भइरहेको छ।














प्रतिक्रिया