राजनिती

प्रचण्ड मतदाता भेटघाट तथा चुनावी कार्यक्रममा तकसेरा



नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुथा उत्तरगंगा गाउँपालिका–१० स्थित तकसेरामा पुग्नुभएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार रहनुभएका संयोजक प्रचण्ड शनिबार साँझ मतदाता भेटघाट तथा चुनावी कार्यक्रमका क्रममा तकसेरा आइपुग्नुभएको हो ।

तकसेरा आगमनका क्रममा स्थानीय बासिन्दाले संयोजक प्रचण्डलाई भव्य स्वागत गरेका थिए । फूलमाला, नारा–जुलुस र सांस्कृतिक प्रस्तुतिसहित गरिएको स्वागतले तकसेरामा उत्साहपूर्ण माहोल सिर्जना गरेको थियो । स्वागत कार्यक्रममा उपस्थित जनतालाई संक्षिप्त सम्बोधन गर्दै संयोजक प्रचण्डले रुकुम पूर्वका जनताबाट आफूले निरन्तर नयाँ ऊर्जा र प्रेरणा प्राप्त गरिरहेको बताउनुभएको छ ।

उहाँले रुकुम पूर्वलाई राजनीतिक मात्र नभई सामाजिक र आर्थिक परिवर्तनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ रुकुमलाई समाजवादी विकास मोडलको सुरुआती थलो बनाउने योजना रहेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, “रुकुम क्रान्तिको सुरुआत भएको भूमि हो, यहीँबाट शान्ति यात्राको ऐतिहासिक निर्णय गरिएको थियो । अब यहाँबाट समृद्धि र समाजवादको नयाँ यात्राको थालनी हुन्छ ।”

संयोजक प्रचण्डले आफ्नो पहलमा संविधानमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको स्मरण गराउँदै संविधानको मर्मअनुसार पहिचान र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । मगर समुदायको ऐतिहासिक पहिचान र सभ्यताको संरक्षणका लागि मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यतालाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने योजना रहेको उहाँको भनाइ थियो । यसबाट मगर सभ्यताको संरक्षण हुनुका साथै पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रको चौतर्फी विकास हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सहभागी स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणले रुकुम पूर्वको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका सवालमा आफ्ना अपेक्षा र सुझाव राखेका थिए । संयोजक प्रचण्डले ती सुझावहरूलाई नीति तथा कार्यक्रममा समेट्दै व्यवहारिक कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभएको छ ।

संयोजक प्रचण्डको आजको बास तकसेरामै रहने र भोलि बिहान वडा नम्बर १३ बिर्गुम लगायत विभिन्न स्थानमा जनभेटघाट तथा चुनावी कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ ।।

प्रकाशित : २ फाल्गुन २०८२, शनिबार, ,