रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरामा “मगर युनिटी ओपन फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ । मगर युनिटी क्लबको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा उद्घाटन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालभरिका फुटबल खेलाडी तथा समुहहरूलाई खुला आमन्त्रण गरिएको छ । पुरुष तथा महिला दुवै विधामा प्रतियोगिता सञ्चालन गरिनेछ । पुरुष तर्फ विजेताले रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले रु. ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । सेमिफाइनलमा पुग्ने दुई समुहलाई जनही रु. १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । महिला तर्फ विजेताले रु. ५५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेताले रु. २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सेमिफाइनलमा पुग्ने दुई समुहलाई जनही रु. १० हजार प्रदान गरिनेछ ।प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उदयमान खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पुरुष समुहका लागि प्रवेश शुल्क रु. ११ हजार तथा महिला समुहका लागि रु. ५ हजार ५ सय निर्धारण गरिएको छ ।प्रतियोगिताको उद्घाटन समारोह जेठ १५ गते बिहान १० बजे तकसेरा, तकको चेबाङमा रहेको प्रवेश राम्जी स्मृति खुल्ला मञ्चमा भव्य कार्यक्रमका विच हुने आयोजक तथा मगर युनिटीका अध्यक्ष किस्मत घर्ती मगरले जानकारी दिनुभयो ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक पक्षले सम्पर्क व्यक्ति अर्जुन मगर तथा मगर युनिटी क्लबका प्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
















प्रतिक्रिया