दुर्घटना

रुकुम पूर्वमा फोर्स गाडी दुर्घटना, तीन जना घाइते



रुकुम पूर्व । आज २०८३ सालकै सुरुवातमा साँझ करिब ६:३० बजेको समयमा भुमे गाउँपालिका – १ रानीबासस्थित मध्य पहाडी लोकमार्गमा फोर्स गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

रुकुमकोटबाट बाग्लुङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज ०८१४ नम्बरको फोर्स गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । उक्त गाडीमा चालकसहित १४ जना सवार रहेका थिए ।

दुर्घटनामा परेर घाइते हुनेहरू सबै बाग्लुङ जिल्ला तामाङखोला गाउँपालिका – ४ निवासी रहेका छन् । घाइतेहरूमा ४२ वर्षीया हिरा कुमारी छन्त्याल , ६० वर्षीया नन्दीसरा छन्त्याल , ७३ वर्षीया कपुरा छन्त्याल रहेका छन् । तीनै जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई एम्बुलेन्स मार्फत उपचारका लागि बाग्लुङ पठाइएको छ ।

गाडी चालक बाग्लुङ तामाङखोला गाउँपालिका – २ निवासी २६ वर्षीय बादल रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक जाँचमा चालकले मादक पदार्थ सेवन नगरेको र सवारीसम्बन्धी कागजात पनि साथमै रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक खुमानन्द पाण्डेको कमान्डमा ९ जना, इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज बिक को कमान्डमा ५ जना तथा प्रहरी चौकी लुकुमबाट प्रहरी सहायक निरीक्षक बमबहादुर शाहीको कमान्डमा २ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १ बैशाख २०८३, मंगलबार, ,