शिक्षा

आइतबार पनि विद्यालय सञ्चालन गर्ने पुथा उत्तरगङ्गा गाउँपालिकाको निर्णय



रुकुम पूर्व । पुथा उत्तरगङ्गा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार तथा पाठ्यक्रम समयमै सम्पन्न गर्ने उद्देश्यसहित आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको ५४ औँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

गाउँपालिकाका अनुसार वैशाख १० गतेदेखि विद्यालय भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ ।

यो निर्णय विभिन्न आधार तथा कारणलाई मध्यनजर गर्दै गरिएको जनाइएको छ । हिमाली भौगोलिक अवस्थाका कारण समयमै पाठ्यक्रम सम्पन्न गर्न कठिनाइ हुने भएकाले अतिरिक्त दिनमा पनि कक्षा सञ्चालन आवश्यक देखिएको गाउँपालिकाको भनाइ छ ।

त्यस्तै, इन्धन बचतका लागि नेपाल सरकारले आइतबार बिदा दिने निर्णय गरे पनि यस क्षेत्रमा अधिकांश विद्यार्थीहरू पैदल नै विद्यालय आउने भएकाले इन्धन खपतमा खास प्रभाव नपर्ने उल्लेख गरिएको छ ।

कानुनी रूपमा पनि स्थानीय तहलाई शिक्षा क्षेत्रको नियमन र व्यवस्थापन गर्ने अधिकार प्राप्त रहेकाले सोही आधारमा निर्णय गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ । नेपालको संविधानको अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) अनुसार उक्त अधिकार स्थानीय तहमा निहित रहेको छ ।

गाउँपालिकाको यो निर्णयले शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार, ,