रुकुमपूर्व — भूमे गाउँपालिका–८ सिमखोलास्थित सरस्वती माध्यमिक विद्यालयमा कार्तिक २५ गते मंगलबार सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय प्रतिनिधि, संघ–संस्था तथा समुदायका सरोकारवालाको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा शिक्षक चन्द्रशेखर बिकले शैक्षिक गुणस्तरका लागि विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताए । अर्का शिक्षक कृष्ण रोकाले विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको सचेत सहभागिता आवश्यक रहेको धारणा राखे ।
छिमेकी विद्यालय मावि कुचिवाङ्गका प्रधानाध्यापक लोकप्रसाद शर्माले बालबालिकाको हितका लागि अभिभावक सधैं अग्रसर हुनुपर्ने सुझाव दिए । कार्यपालिका सदस्य फोम्ली बुढाले चिसो याममा प्रत्येक कक्षाकोठामा हिटरको व्यवस्था गर्नुपर्ने बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाप्रसाद खड्काले शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य र पारदर्शिता नै शैक्षिक सुधारको मुख्य आधार भएको औंल्याए ।
कार्यक्रमको समापन शिक्षक–अभिभावक संघकी वरिष्ठ सदस्य हिरा बिकले गरिन् ।














प्रतिक्रिया